Logo

मार्मिक – चार वर्षदेखि बाँधिएकी छन् चन्द्रकला…

बारा कोल्हबी नगरपालिका–८ नयाँबस्तीकी ९ वर्षीया चन्द्रकला तिमल्सिनालाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्क राम्रो विकास नभएकी चन्द्रकलालाई परिवारले चार वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् ।

 

‘जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौं,’ चन्द्रकलाकी आमा सीतादेवी तिमल्सिनाले भनिन्, ‘तीन वर्षको उमेरसम्म केही थाहा भएन, कहिलेकाहीँ बेहोस भएर जिब्रो बाहिर निकाल्थी, पछि बिस्तारै आफैं होसमा आउँथी ।’

आर्थिक अवस्था कमजोर भएकाले राम्रो उपचार गर्न नसक्दा छोरीको स्वास्थ्य ठीक हुन नसकेको उनको ठम्याइ छ । तीन कट्ठा ऐलानी जग्गामा बनेको छाप्रोमा बस्दै आएका तिमल्सिना परिवारसँग कमाइ खाने जग्गा नहुँदा परिवारले दैनिक ज्याला मजदुरी गरी साँझ–बिहानको छाक टार्दै आएका छन् ।

चन्द्रकलाकी बुबा मुक्तिनाथ तिमल्सिनाले धेरै समय भारतमा मजदुरी गरेर नुनतेलको जोहो गर्दै आएका थिए । २०६४ मा उनकी श्रीमतीले अर्कैसँग बिहे गरेपछि उनी नेपाल फर्किएका हुन् । उनले २०६५ मा उनले सीतादेवीसँग बिहेगरेका हुन् ।

यसअघि उनले बिहे गरेका तीन श्रीमतीले विभिन्न कारणले घर छाडे । कान्छी श्रीमतीको पहिलो सन्तानका रूपमा चन्द्रकला जन्मिएकी हुन् । ‘छोरीका उमेरका सबै स्कुल जान्छन्, राम्ररी बोल्न र हिँडडुल गर्न सक्छन्,’ उनका बुबा मुक्तिनाथले भने, ‘सक्ने जति उपचार गरें । खै, अब छोरीको उपचार गर्न सकिएला जस्तो छैन ।’

उनले भारतमा मजदुरी गरी कमाएको १ लाखसहित बाख्रापाठा बेचेर अलिअलि जम्मा पारेको रकम पनि छोरीको उपचारमा सकिएको बताए । केही समयअघि चितवन र भरतपुरको सरकारी अस्पतालमा उपचार गराउन जाँदा छोरीको एमआरआई गर्ने रकम नपुगेपछि त्यतिकै घर फर्किको पीडा उनले सुनाए । अहिलेसम्म खासमा छोरीको रोग नै पत्ता लगाउन नसकिएको बताउँदै उनले भने, ‘एमआरआई गर्ने खर्च मात्रै जुटाउन सके छोरीको रोग लाग्थ्यो कि ?’

‘दिसापिसाब लागेको समेत थाहा नहुने चन्द्रकलालाई न भोक लागेको थाहा हुन्छ, न डर र लाजको थाहा छ,’ उनकी आमा सीतादेवीले भनिन् । उनका नजिक पर्ने जो कोही नयाँ अनुहारलाई सुरुमा अनौठो रूपमा हेरिरहन्छिन र पछि जनावरले जस्तै गरी झम्टिन्छिन् । ‘मजदुरी गरेको पैसाले खान त पुग्दैन,’ मुक्तिनाथले भने,  ‘उपचार  गर्न पैसा चाहिन्छ, त्यो हामीसँग छैन ।’ जथाभावी दिसापिसाब गर्ने भएकाले चन्द्रकलालाई परिवारले खानपिनमा पनि उतिसारो ध्यान नदिँदा उनको शरीरसमेत सुक्दै गएको छ । स्थानीय समाजसेवी उमेश सापकोटाले तिमल्सिना परिवार उपचार गरिदिने दाताको खोजीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्