Logo

कक्षा ११ को परीक्षा अन्योलमा ,४ लाख ४९ हजार विद्यार्थी परीक्षा दिने तयारीमा

जेष्ठ १६- २०७४- कक्षा ११ का ४ लाख ४९ हजार विद्यार्थी परीक्षा दिने तयारीमा जुटेको दुई महिना भइसक्यो । चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरू स्थानीय निकायको निर्वाचन पटक–पटक सर्दा परीक्षा कहिले हुन्छ भन्ने अन्योलमा छन् । असार पहिलो सातादेखि १२ कक्षाको अध्ययनमा सहभागी हुनुपर्ने विद्यार्थीले ११ कक्षाको अन्तिम परीक्षा दिनसमेत पाएका छैनन् ।

राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को शैक्षिक क्यालेन्डरअनुसार वैशाख २४ देखि ११ को परीक्षा हुनुपर्ने थियो । वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते सारिएको थियो । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ तोकेपछि एनईबीले असार ८ लाई परीक्षा सार्‍यो । सरकारले मंगलबार जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अब परीक्षा कहिले हुन्छ ? अन्योल भएको छ । कक्षा ११ को परीक्षा सकाउन कम्तीमा १० दिन लाग्छ । यसअघि तय गरेको असार १ देखि सुरु गर्दा पनि ९ गते सकिँदैन । असार १ भन्दा अघिदेखि सुरु गर्न त्रिवि र अन्य विश्वविद्यालयको परीक्षा चलिरहेको हुन्छ । ‘चाँडै सल्लाह गरेर परीक्षाको नयाँ मिति तय गर्छौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भने । ९ गतेअघि परीक्षा सार्दा नसक्ने भएपछि निर्वाचनपछि मात्रै हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्