Logo

प्रदेश २ को पहिलो बैठक जनकपुरमा बस्दै गर्दा आक्रोशमा जल्यो वीरगञ्ज

वीरगञ्जमा राजधानीका लागि संघर्ष गरिरहेको संघर्ष समितिले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै तीन वटा सवारी साधनमा तोडफोड गरिएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड समेत गरेका छन् । बन्दकर्ताहरुले वि आर ०५ पी ए ३०४० नम्बरको भारतीय गाडी, नम्बर नखुलेका दुईवटा नीजि कारमा तोडफोड गरेका छन् ।

प्रदेश नं २ को अस्थायी प्रादेशिक राजधानी जनकपुरमा पहिलो प्रदेश सभा बैठक बस्न लागेको विरोधमा वीरगञ्जमा बन्दको आह्वान गरिएको हो । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी घोषणा गनुपर्ने माग राखेर वीरगञ्जमा झण्डै डेढ महिनादेखि आन्दोलन चलिरहेको छ ।

बन्दका कारण बिहानै देखि सडक अवरुद्ध गरिएको छ, भने ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात् माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्द आह्वान कर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकाराखाना ठप्प पारेका छन् । जसका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ ।

अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिका आह्वानमा यसअघि पनि विभिन्न आन्दोनलका कार्यक्रमहरु भएका थिए ।

बन्दका क्रममा एम्बुलेन्स, दमकल अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण पसल बजार सबै ठप्प पारिएको संघर्ष समितिले जनाएको छ । मोटरसाईकल, रिक्सा भने सञ्चालनमा छन् । सम्पूर्ण पूर्वाधार हुँदा हुँदै पनि वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा नगरेका कारण आन्दोलनमा उत्रनु परेको संघर्ष समितिको भनाई छ । जनकपुरलाई नभई वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर संघर्ष समितिको आह्वानमा घण्टाघरमा रिले अनशन पनि चलिरहेको छ ।

सोमबार बिहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्