Logo

प्रदेश नम्वर ३ मा एमालेलाई माओवादीको असहयोग..सरकार गठनमा सहभागी नहुने

माओवादी केन्द्र तत्काल प्रदेश सरकारमा सहभागी नहुने सम्भावना बढेको छ । माओवादी समेतको समर्थनमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त भएका छन् । भोलि सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने पौडेलको तयारी छ । त्यसका लागि माओवादीसँग नाम मागेको छ ।

तर, माओवादी केन्द्र सरकारमा जान तयार छैन । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकटेट्टलले भने, ‘अहिलेसम्म पार्टीले केही भनेका छैन । कुनै नयाँ निर्णय नभए हामी भोलि सरकार गठनमा सहभागी हुँदैनौं ।’

उनले अघि भने, ‘हाम्रो जोड सरकार गठन अघि नै पार्टी एकताको ठोस खाका बन्नुपर्छ भन्ने हो ।’ यद्यपि कतिपयले भने रोजेको मन्त्रालय नपाएपछि माओवादी सरकारमा नजाने खोजेको बताएका छन् ।

माओवादीले प्रदेश ३ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालय दाबी गरेको छ । तर, एमालेले केशव स्थापितलाई अघि सारेपछि समस्या देखिएको स्रोतको दाबी छ । संसदीय दलका नेता जम्मरकट्टेलले पनि यो मन्त्रालयमा आफ्नो दाबी रहेको स्वीकार गरे । तर, एमालेसँग मन्त्रालय बाँडफाँटमा कुनै विवाद नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्