Logo

नेपाली बलरहरुले दोहोरो जिम्मेवारी पूरा गर्दा नेपालले हङकङलाई पाँच विकेटले हरायो

काठमाडौं । नेपाली बलरहरुले दोहोरो जिम्मेवारी पूरा गर्दा आईसीसी एकदिवसीय विश्वकप छनौट खेल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले हराएको छ । यो महत्वपूर्ण जितसंगै नेपाल अब एक दिवशीय खेलका लागि मान्यता पाउने बाटोमा लागेको छ ।

सोमबार दिउँसो बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लवको खेल मैदानमा टस जित्दै पहिले ब्याटिंग रोजेको हङकङले निर्धारित ५० ओभरको खेलमा ४८ दसमलभ २ ओभर खेल्दै सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियोे । नेपालका बलरहरु सामुन्ने हङकङका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै निरीह साबित भए पनि हङकङका निजाकत खानले ४ चौका र एक छक्काको मद्दतले सर्वाधिक ४७ रनको जुझारु पारी खेल्दा खेलेका थिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले उत्कृष्ट बलिङ गरेका छन् । सन्दीपले १० ओभर बलिङ गर्दै ४ ओभर मेड्न खेल्दै जम्मा १७ रन खर्चिदै हङकङका ३ महत्त्वपूर्ण विकेट हात पार्दा वसन्त रेग्मीले पनि १० ओभर बलिङ गर्दै ४ ओभर मेड्न फाल्दै २४ रन खर्चेर २ महत्त्वपूर्ण विकेट प्राप्त गरे ।त्यसैगरी करण केसीले पनि २ विकेट प्राप्त गर्दा सोमपाल कामी र ललित राजबन्सीले समान एक ÷एक विकेट झट्काए ।

हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ४० ओभर ४ बलमा ५ विकेटको खर्चमा लक्ष्य प्राप्त गरेको थियो । नेपालका लागि रोहितकुमार पौडेलले शानदार खेल प्रदर्शन गर्दै पाँच चौकाको सहयोगमा ४८ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले ४० रनको सामना गर्दै ५ चौकाको सहयोगमा ३७ रन बनाएका थिए ।

शीर्ष क्रममा व्याट्सम्यानहरु सस्तोमा बाहिरिएपछि पौडेल र कामीले टोलीलाई बचाउदै जित सम्भव तुल्याएका थिए । नेपालका लागि कप्तान पारस खड्काले ११ रन बनाउँदा , ज्ञानेन्द्र मल्लले १२ ,अनिलकुमार साहले २६ , दीपेन्द्र सिंह ऐरीले १२ र आरिफ शेखले २ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्