Logo

विमानस्थलभित्रै भयानक दुर्घटना : हेर्दाहेर्दै जहाज यसरी भयो खरानी (डियो सहित)

त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए । विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका हुन् । हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हुँदा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।

बंगलादेशको आश्वासन
बंगलादेशको नागरिक उड्डयन प्राधिकरणले दुर्घटना जाँचका क्रममा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त मुलुकको दुर्घटना जाँच ब्युरोले आफ्नो मुलुकको जहाज दुर्घटनापछि कारण पत्ता लगाउन सबै प्रकारको सहयोगको वचन दिएको महानिर्देशक गौतमले जानकारी दिए ।

२ घन्टा विमानस्थल अवरुद्ध
जहाज दुर्घटनापछि सोमबार करिब दुई घन्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । यसबीचमा नेपाली सेना, नेपाल प्रहरी तथा विमानस्थलस्थित उद्धार टोली उद्धारमा खटिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मीसहित उच्च सरकारी अधिकारी दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।

छानबिन गर्न समिति गठन
सरकारले युएस बंगला एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग गठन गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनील प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिव तोकिएको छ ।

आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

किन बचाउन सकिएन धेरै यात्रु ?
विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो
दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो । तर, नेपालमा युएस–बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्‍यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने ।

नेपालमा भएका अन्तर्राष्ट्रिय हवाई दुर्घटना

कालिंगा एयर : २५ फागुन ०११ मा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको थियो । कालिंगा एयरलाइन्सको डिसी–३ विमान बाराको सिमरामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो । दुर्घटनामा परेकामध्ये एकजनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्स : २ जेठ ०१३ मा इन्डियन एयरलाइन्सको डिसी–३ विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेकामध्ये १९ जनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्स : इन्डियन एयरलाइन्सको डिसी–३ दुर्घटना भएको दुई वर्षपछि नेपालमा फेरि अर्को विमान दुर्घटनामा पर्‍यो । ११ चैत ०१४ मा इन्डियन एयरलाइन्सकै डिसी–३ मोडलको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गयो । पट्नेभञ्ज्याङमा भएको दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।

थाई एयरलाइन्स : १६ साउन २०४९ मा नुवाकोटको घ्याङ्गफेदीमा थाई एयरलाइन्सको एयरबस–३१० दुर्घटना हुँदा एक सय १३ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

पाकिस्तान एयरलाइन्स : नेपालमा थाई एयरलाइन्सको जहाज दुर्घटनामा परेकै वर्ष अर्को ठूलो दुर्घटना भएको थियो । १२ असोज ०४९ मा पाकिस्तान एयरलाइन्सको एयरबस–३१० विमान दुर्घटना हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भट्टेडाँडामा भएको उक्त दुर्घटना नेपालमा हालसम्म भएकामध्ये सबैभन्दा ठूलो हवाई दुर्घटना हो ।

लुप्थान्सा एयरलाइन्स : काठमाडौंकै भस्मेसुर डाँडामा भएको लुप्थान्सा एयरलाइन्सको बी–७२७ (२००) विमान दुर्घटनामा हुँदा पाँचजनाको ज्यान गएको थियो । २३ असार ०५६ मा भएको दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

टर्किस एयरलाइन्स : नेपालमा २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

हेर्दाहेर्दै जहाज यसरी भयो खरानी


सिजन बयम्बु, प्रत्यक्षदर्शी
म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झैँ लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ ।

जहाज डोमेस्टिक एभियसनतर्फ रहेको सेनाको ब्यारेकमाथिबाट आउँदै थियो । जहाजले ब्यारेकको मूलगेटनजिकै रोपिएको धुपीको रूख झन्डै छोयो । बत्तिँदै डोमेस्टिक एभियसनको छानातर्फ अघि बढ्यो । छाना नै छोला–छोलाझैँ देखियो । तर, छोएन । जहाज अघि बढ्यो ।

छानाभन्दा ठीक अघि बत्तीका ठूला–ठूला पोल छन् । जहाज त्यही पोलमा ठोकिएलाझैँ भयोे । तर, पोललाई छोएन । जहाज रनवेतर्फ अघि बढ्यो । रनवेमा ल्यान्ड गर्नासाथ ठूलो आवाज निस्कियो । त्यहीवेला कालो धुवाँ पनि सँगै आयो । एकछिनपछि आगो बलेको देखियो, जहाज अघि बढ्यो, तर धुवाँ र आगो आउन रोकिएन । त्यसपछि जहाज दक्षिण–पूर्वतर्फ हुत्तिँदै गयो । केही पर पुगेर रोकिएको देखियो । जहाजबाट अब अवाज आउन बन्द भयो । तर, धुवाँको मुस्लो देखियो । केहीबेर त धुवाँको मुस्लोले आकाश नै ढाक्यो । करिब २० मिनेटसम्म आकाश धुवाँले ढाकेको थियो ।

अन्तिम संवाद : प्राविधिक विश्लेषणसहित

कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए ।

काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन वे टु जिरो भनेको पशुपतितर्फबाट अवतरण गर्ने रनवे हो, कोटेश्वरबाट अवतरण गर्ने रनवे जिरो टु हो, सामान्यतया अन्तर्राष्ट्रिय विमानहरू कोटेश्वरतर्फबाट अर्थात् जिरो टु रनवेमा अवतरण गर्छन् ।) तर, एअर ट्राफिक कन्ट्रोल (एटिसी) ले म फेरि भन्दै छु रनवे टु जिरोतिर नजानुहोस् भनेबाटै बुझिन्छ, पाइलट पशुपतितर्फबाट अवतरण गर्नेगरी अघि बढिरहेका थिए, त्यतातर्फ जान खोज्दै थिए, एटिसीले सचेत गराउँदै थिए ।

बंगला स्टार (पाइलट) : हामी रनवे जिरो टु (कोटेश्वर) बाट अवतरण गर्न दायाँतिर मोडिएर होल्ड गर्ने छौँ ।
(यसको मतलब के हो भने पशुपतितर्फबाट होइन, कोटेश्वरतर्फबाट अवतरण गर्न एटिसीले दिएको अनुमति पाइलटले स्विकारेका छन् । त्यसका लागि केही समय आकाशमै होल्ड गर्न पनि उनी तयार भएका छन् ।)

काठमाडौं टावर : ओके सर, तर झट्टै अवतरण नगर्नुहोस् । अर्को विमान सर्ट फाइनलमा छ । (अर्को विमान सर्ट फाइलनमा छ भनेको अवतरणका लागि धावनमार्गनिकट आइपुगिसकेको छ भन्ने हो । अर्को विमान धावनमार्गनजिक आइसकेकाले बंगला स्टारलाई धैर्य गर्न थप सचेत गराइएको छ ।)

काठमाडौं टावर : बुद्ध एयर ३५२; अन्य ट्राफिकका कारण १५ माइल पर नै होल्ड गर्नुहोस् । (बुद्ध एअरबाट जवाफ आउँदैन)

काठमाडौं टावर : बुद्ध एयर ३५२; तपाईं १५ माइलमा होल्ड गर्न सक्नुहुन्छ ? कन्फर्म गर्नुहोस् ।
यसबीचमा काठमाडौं टावरभित्र नै अधिकारीबीच कुराकानी हुन्छ : यो जहाज रनवेमा जिरो टु र टु

जिरोमा डिस्ओरियन्टेड भएजस्तो छ । यसलाई राडार भेक्टर गरी अर्को धावनमार्गतिर लैजानुपर्ला जस्तो छ ।

(यसको मतलब कोटेश्वर र पशुपति कताबाट अवतरण गर्ने भन्नेमा बंगला स्टार अलमलमा परेको छ भन्ने अनुमान काठमाडौं टावरले गरिसकेको छ । त्यसैले अब जहाजलाई निश्चित दिशा निर्देश गर्दै धावनमार्गसम्म डोर्‍याउने प्रक्रिया थाल्नुपर्छ भनेर टावरमा कुराकानी भएको छ । तर, यसका लागि पाइलटले नै मलाई राडार भेक्टर आवश्यक छ भनी अनुरोध गर्नुपर्ने उड्ययन अभ्यास छ ।)

काठमाडौं टावर : वंगला स्टार २११ † दुबै रनवे खाली गरिएको छ । कुन रनवेमा अवतरण गर्न चाहनुहुन्छ ? (अलमल परेको जहाजलाई सहज अवतरण दिन एटिसीले दुवैतर्फका धावनमार्ग खुला गरिदिएको छ, कुन सहज हुन्छ भनेर पाइलटलाई सोधिएको छ ।)

वंगला स्टार (पाईलट) : हामी रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न चाहन्छौ ।

काठमाडौं टावर : रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न अनुमति छ । (पश्चिमबाट पूर्वतिर हावाको बहाव) २ सय ७० डिग्रीमा हावाको गति ६ नट (सामान्य ) छ ।
(पाइलटले नै रोजेअनुसार पशुपतितर्फबाट अवतरण गर्न एटिसीले अनुमति दिएको छ, साथै हावाको गति सामन्य छ भन्ने जानकारी पनि दिएको छ)

बंगला स्टार (पाइलट) : रनवे टु जिरो क्लियर फर ल्याण्डिङ ।
(अब जहाज अवतरण गर्नै लाग्यो, धावनमार्ग क्लियर छ भन्ने एटिसीको सूचनालाई पाइलटले नियमअनुुसार निश्चित गर्न खोजेका छन् )

काठमाडौं टावर : तपाईको नजरमा रनवे छ ? निश्चित गर्नुहोस् ।

बंगला स्टार (पाइलट) : नेगेटिभ ।
पाइलटले भने, मेरो नजरमा रनवे छैन ।

काठमाडौं टावर : वंगला स्टार २११ ; बाँयातिर मोडिनुस ।
(तर, एटीसीको यो निर्देशन पुरा नभई टुङगीएको छ ।)

काठमाडौं टावर : तपाईले धावनमार्ग देख्नुभयो कि अझै देख्नुभएको छैन ?

बंगला स्टार (पाइलट) : अफरमेटिभ रनवे इन्साईट । अतवरणका लागि अनुमाति दिनोस् ।
(अर्थात्, पाईलटले धावनमार्ग देखिसकेको जानकारी गराइसकेका छन् , उनी अवतरण गर्न पुरै तयार छन् ।)

काठमाडौं टावर : वंगला स्टार २११ ; अवतरणका लागि अनुमति छ ।

बंगला स्टार (पाइलट) : रनवे जिरो टुमा (कोटेश्वर) बाट अवतरणका लागि अनुमति दिनुहोस ।

यहाँ अचानक अर्को ‘ट्वीस्ट’ आएको छ । पशुपतितर्फबाट अवतरण गर्न पाइलटले अनुमति मागेकोले धावनमार्ग समेत क्लियर भइसकेको अवस्थामा उनले कोटेश्वरतर्फबाट अवतरण गर्न अनुमति मागेका छन् । यसले के देखिन्छ भने पाइलट अत्यन्तै अलमलिएका छन्, उनले आफुले एटीसीसँग भएको अघिल्लो सम्वाद पनि बिर्सिएका छन्, पाइलट चरम तनाव वा थकाइको अवस्थामा भएको अनुमान गर्न सकिन्छ ।)

काठमाडौं टावर : रनवे जिरो टुमा (कोटेश्वरतर्फबाट) अवतरणका लागि अनुमति छ ।
(अलमलिएका पाइलटलाई एटीसीले कोटेश्वरबाट अवतरण गर्ने अनुमति दिएको छ ।)

काठमाडौं टावर :  यही बीचमा काठमाडौं टावरले आर्मी ३५ लाई होल्डिङका लागि अनुरोध गर्दछ । टावर भन्छ– वंगला स्टार २११ ले रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न सर्किलिङ गरिरहेको छ । तपाई अहिले उडानगरी रहनु भएको स्थानमा होल्ड गर्न सक्नु हुन्छ ?

यसको मतलव बङलास्टार कताबाट अवतरण गर्ने हो भन्नेमा एटीसी पनि अलमलमा छ । दुवैतर्फका धावनमार्ग क्लियर हुँदा बङलास्टारलाई अवतरण गर्न झन् सजिलो हुने भएको छ ।

आर्मी ३५ : वी वील कम्प्लाई (अर्थात सेनाको जहाजले १० माईल पर होल्डिङका लागि स्विकार गरेको छ ।)

बंगला स्टार (पाइलट) : सर हामीलाई अवतरणका लागि अनुमति छ ?
यसअघि जिरो टु (कोटेश्वर) बाट अवतरण गर्न खोजिरहेको वाङलास्टार फेरि टु जिरो (पशुपति) बाट अवतरण गर्न खोजेको छ । यसले एटीसीमा फेरि तनाव बढाएको छ ।
केही बेर स्वांं………. आवाज
काठमाडौं टावर : वगला स्टार २११ ; म फेरी भन्छु ………………. डोन्ट…….
स्वाँ …………. आवाज

बंगला स्टार (पाइलट) : फायर फायर (जहाँजमा आगलागी भएको पाईलटद्धारा काठमाडौं टावरलाई जानकारी)

काठमाडौं टावर : धावनमार्ग तर्फ आइरहेका सम्पूर्ण जहाँजलाई अन्य ठाउँमा अवतरण गर्न वा होल्ड गर्न अनुरोध ।

के भन्छन् घाइते र प्रत्यक्षदर्शी ?

काठमाडौं–पोखरा  घुम्न आएँ, श्रीमान् र छोरी बेपत्ता भए

अल्मुन्नाहर अन्नी,
बेड नं. ४७८ केएमसी अस्पताल

म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ ।

नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु धेरै वर्णन गरेका थिए । त्यसैले म नेपाल घुम्न आतुर थिएँ ।

परिवारसँग नेपाल घुम्ने सल्लाह भयो । अरू साथीहरूसँग पनि सल्लाह भयो । अन्ततः हामी नेपाल आउने तय भयो, मार्चको दोस्रो साता । नेपाल आउने चाहना राख्ने त अरू पनि थिए, तर उनीहरूको समय मिलेन । अन्तिममा म, मेरो बच्चा र श्रीमान्सहित अन्य दुईजना नेपाल आउने निर्णयमा पुग्यौँ । सात दिनसम्म नेपाल घुम्ने उद्देश्यले हामी सोमबार ढाकाबाट नेपालका लागि उड्यौँ । नेपालमा काठमाडौं र पोखरा घुम्ने हाम्रो योजना थियो । यसका लागि हामीले सात दिनको छुट्टी लिएका थियौँ ।

नेपाल आउन पाउँदा निकै उत्साहित थियौँ । जहाजमा चढेपछि कतिवेला नेपाल पुगिएला भन्ने कौतूहल मनमा थियो । केही घन्टाको जहाज यात्रापछि डाँडाकाँडा देखियो । हिउँले ढाकिएका पहाड देखिए । निकै रोमाञ्चित भएर त्यसलाई नियालिरह्यौँ ।

जहाजभित्र काठमाडौं आइपुगेको ‘अनाउन्स’ भयो । हामी थप रोमाञ्चित भयौँ । जहाज अवतरण गर्न तल–तल झर्‍यो । काठमाडौंका घर देखिए । पछि विमानस्थलको रनवे देखियो । तर, जहाज रन वेतर्फ गएन । मनमा चसक्क पस्यो । जहाज घुम्यो । केही बेरपछि फेरि रेनवे देखियो । तर, जहाज सही दिशामा थिएन ।

जहाज एक्कासि बजारिएको आवाज आयो । जहाजभित्रका सबै आत्तिए । कोही कराउन लागे । कोही चिच्याउन लागे । जहाजभित्र डढेको गन्ध आउन थाल्यो । तर, जहाज रोकिएको थिएन । सिट बेल्ट बाँधिएकाले कोही हिँडडुल गर्न पनि सकेको थिएन । तर, सबै चिच्याइरहेका थिए ।

केही बेरमा जहाज रोकियो । जहाजमा आगो दन्किएको देखियो । जहाजभित्र यात्रुको भागदौड मच्चियो । सबैले गुहार माग्न लागे । कोही रुन थाले । कोही कराउन थाले । मसँगै हुनुहुन्थ्यो मेरा श्रीमान् र काखमा थियो सानो बच्चा । सिट बेल्ट बाँधिएकाले हामी कहीँ जान सकिरहेका थिएनौँ । तर, अरूले भने सिट बेल्ट खोलेर जहाजभित्रको इमर्जेन्सी ढोका खोल्दै थिए । कोही जहाजभित्रैबाट सिसा फुटाइरहेका देखिन्थे ।

हामी भने केही गर्न सकिरहेका थिएनौँ । तर, जहाज झन्–झन् दन्कँदै थियो । के गर्ने केही मेसो पाउन सकिरहेका थिएनौँ । बच्चा काखमा च्यापिरहेकी थिएँ । आगो दन्किँदै झन्–झन् नजिक आउन थाल्यो । डरले म सिटमै बसिरहेँ । यत्तिकैमा मेरो हात कसैले तान्यो । त्यसवेलासम्म म अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ । त्यसपछि के भयो, मैले केही मेसो पाउन सकेकी छैन ।

अहिले म अस्पतालको बेडमा छु । मेरा श्रीमान् र बच्चा हराइरहेका छन् । मैले सबैलाई सोधेँ । तर, कसैले पनि उत्तर दिएका छैनन् । सबैले ‘मिसिङ’ मात्रै भनिरहेका छन् । उनीहरू कहाँ छन् ? मलाई केही थाहा छैन । मसँगै आएका अन्य दुई साथी भने सकुशल भएको खबर पाएकी छु ।

यो समाचार नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्