Logo

मंसिरमा मात्रै १० जना यौनहिंसा र बलात्कारका पीडित !

गत मंसिर महिनादेखि हालसम्म १० भन्दा महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो समय प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूमा वृद्धि हुँदै गएको जानकारी गराइन् ।

उनले भनिन्, ‘‘सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलाप गराइनु र बलात्कार जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्न दोषीहरूलाई प्रभावकारी कारबाही नहुनुले पीडितहरू न्यायबाट वञ्चित हुने गरेको देखिन्छ ।’

उनले नेपालको संविधानले यौनजन्य हिंसालाई कानुनबमोजिम दण्डनीय गर्ने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरे पनि पाउन नसकेको बताउँदै हिंसापीडित महिलालाई न्यायका लागि पहल गर्ने क्रममा स्थानीय प्रशासन, प्रहरी र सरकारी वकिलका कार्यालयलाई संवेदनशील भई न्यायिक प्रक्रिया अगाडि बढाउन आग्रह गरिन् ।

आयोगले केही सञ्चारमाध्यमबाट पीडितको पहिचान हुने गरी तस्वीरसहितको समाचार प्रकाशन गरिनाले पीडितको गोपनीयताको अधिकारमा गम्भीर असर परेकाले संवेदनशीलता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्