Logo

तीन सयको खाजा खाँदा ३० हजार रुपैयाँको औषधोपचार

इन्द्रेणी सपना देख्दै काठमाडौंमा भविष्य खोज्नेको बाहुल्य छ । भविष्य खोज्नेले परिश्रमको पापड बेल्न अल्छी गर्दैनन् । उनीहरू बिहानै निस्केर बेलुकामात्रै घर फर्कन्छन् । काठमाडौंमा गरिखाने वर्गको दिनचर्या यस्तै–यस्तै हुन्छ ।

भनाइ छ, ‘खानाकै लागि त काम गर्ने हो ।’ तर, स्वप्नजीवीले त्योभन्दा परसम्म सोचेका हुन्छन् । सपना देखेका हुन्छन् । त्यसका लागि पनि काम गर्नैपर्यो । बिहानै बाहिर निस्कनेले नचाहेरै पनि बाहिर खानुपर्ने बाध्यता छ । ‘आयस्रोत सीमित छ । उसले पाँचतारे होटलमा गएर खान सक्दैन,’ होटल अन्नपूर्णका फुड एन्ड बेभरेज मेनेजर यादवप्रसाद पाण्डे प्रश्न गर्छन्, ‘हाइजिन भएको रेष्टुरेन्ट जान पनि सक्दैन । तर, खाना वा खाजा खाँदा आफूले खाएको खानेकुरा कत्तिको स्वस्थ छ भनेर कसरी जाँच्ने ?’

‘सिंगापुरमा होटल तथा रेष्टुरेन्टको ग्रेडिङ सिष्टम छ,’ फुड एन्ड बेभरेज मेनेजर पाण्डेले सुनाए, ‘त्यहाँका होटल तथा रेष्टुरेन्ट ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड निर्धारण गरिएका हुन्छन् । उल्लिखित होटल तथा रेष्टुरेन्टमा आधारभूत कुरा लागू गरिएको हुन्छ । सी क्लासको रेष्टुरेन्टको खानेकुरा खाएपछि पेट दुख्यो भने सिकायत गर्न सकिन्छ ।’

नेपालमा त्यो सुविधा छैन । तीन सय रुपैयाँको खाजा खाएर ३० हजार रुपैयाँको औषधोपचार गर्दासमेत सिकायत गर्ने ठाउँ छैन । सिंगापुरमा तीन वर्ष होटल मेनेजमेन्ट पढेका र चार वर्ष त्यहाँको होटल प्यान प्यासिफिकमा काम गरेका उनी सुझाउँछन्, ‘नेपालका होटल, रेष्टुरेन्टदेखि चियापस, खाजाघरसम्मको रिभ्यु गरिनुपर्छ ।’ होटल तथा रेष्टुरेन्टबारे सामान्य समीक्षामात्रै गरिन्छन्, लेखिन्छन् तर यतातिर कसैको ध्यान गएको छैन ।

‘घरभित्र फोहोरको थुप्रो राखेर बाहिर झिँगा मारिन्छन्,’ उनले प्रस्ट्याए, ‘सरकारले स्वास्थ्यमा अथाह खर्च गरेको छ । उसले जहाँको खानेकुरा खाएर मानिस रोगी बन्दै गएका छन्, त्यसको पहिचान गर्न सकेन । सम्बन्धित व्यक्तिले जहाँकहीं स्वस्थ दालभात, रोटी तरकारी खान पाउनुपर्छ । चियापसल, खाजाघर, रेष्टुरेन्टदेखि होटलसम्म न्यूनतम मापदण्ड पूरा गरेरमात्रै खोल्ने प्रावधान लागू गर्नुपर्छ ।’

त्यसका लागि सरकारी तथा गैरसरकारी संघ–संस्थासँग सहकार्य गर्दै सरकारले चेतनामूलक अभियान थाल्यो भने नेपाली स्वस्थमात्रै हुँदैनन्, स्वास्थ्यमा हुने अथाह खर्च कटौती हुनेछ । त्यो खर्च अन्य शीर्षकमा लगानी गर्न सकिन्छ ।

सम्बन्धित देशको उपलब्धताका आधारमा सबैको आ–आफ्नै किसिमको खाने तरिका हुन्छ । छ । विदेशीले त्यसलाई संस्कारका रूपमा विकास गरे । नेपालीले त्यस्तो अभ्यास गर्न नसकेको उनको बुझाइ छ । ‘संसार गाउँजस्तै बन्दै गएको छ,’ सिंगापुर टुरिजम बोर्ड र रेष्टुरेन्ट एसोसिएसन सिंगापुरबाट एक्सिलेन्स सर्भिस (सिल्भर र गोल्ड) अवार्डसमेत पाएका पाण्डेले अनुभव सुनाए, ‘त्यसपछि एकले अर्को देशको खानेकुरा चाख्न थाले । खान थाले । हामीले पनि अरूको खान थाल्यौं । तर, हाम्रो मौलिक खानाचाहिँ खुवाउन सकेका छैनौं ।’

नेपालीको खाने संस्कार आफ्नै किसिमको छ । ‘हामी बिहान बेलुका दालभात खान्छौं । फरक–फरक स्वादका खानेकुरा खान सक्ने क्षमता छैन,’ सन् २०१० देखि २०१४ सम्म होटल र्याडिसनमा फुड एन्ड बेभरेज एसिस्टेन्ट मेनेजरको भूमिका निर्वाह गरेका उनको बुझाइ छ, ‘बिहान मकैको भात खानुभयो भने बेलुका ढिँडो खानुस् । बिहान दाल र तरकारी खानुभयो भने बेलुका गुन्द्रुक खानुहोस् । अथवा गेडागुडी, लसुनको पत्ता, मुलाको चानामा झोल हालेर खानुहोस् । बिहान पनि लसुन बेलुका पनि लसुनको तरकारी नखानुस् पो भनेको त ।’

‘फुड भनेको सेलेब्रेसन हो,’ उनको तर्क छ, ‘जुनसुकै खानेकुरा खाँदा इन्जोय गर्नुपर्छ । उपलब्धताका आधारमा फरक–फरक स्वादको खाना खाऔं । फरक स्वादका खाना खाँदा शरीरलाई चाहिने क्यालोरी, पोषण तत्वका साथै जिब्रोले फरक–फरक स्वाद लिन पाउने भयो ।’

‘डाइट’ र ‘क्यालोरी’ मिलाएर खाने नेपाली असाध्यै कम होलान् । तर, उपलब्धताका आधारमा खानेकुरा फरक–फरक स्वादमा खान जान्नु भनेको कला हो । जुन कला अधिकांश नेपालीलाई थाहा छैन । खानेकुरा केही छैन भन्दै बिहान बेलुका दालभात खानेकै बाहुल्य छ ।

बिहान ढिँडो खाएकाले बेलुका ढिँडो खानुको सट्टा रोटी र गुन्द्रुकको अचार खाँदाको स्वाद बेग्लै हुन्छ । सन् २०१४ देखि २०१६ सम्म होटल हायातमा सेल्स मेनेजरको भूमिका निर्वाह गरेका यादवप्रसाद पाण्डेको मान्यता छ, ‘फुडलाई कम महत्व दिनुहुँदैन । चार दिनदेखि लगातार ढिँडो खाएकाले पाँच दिनदेखि त्यही खाना हेर्न मन पराउँदैन ।’

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पाण्डे सन् २०१० मा सिंगापुरबाट नेपाल फर्केका हुन् । आफूले हासिल गरेको ज्ञान काठमाडौंका विभिन्न पाँचतारे होटलमा व्यवहारमा उतार्दै छन् ।

प्रतिक्रिया दिनुहोस्