Logo

किन दिए रोहितलाई अफगानिस्तानका कप्तानले ब्याट उपहार ?

काठमाडौं । विश्वकप छनोटमा सोमबार हङकङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकोमा अफगानिस्तानका कप्तानले नेपाली ब्याट्सम्यान रोहितकुमार पौडेललेलाई ब्याट उपहार दिएका छन् ।

विश्वकप छनोटमा शनिबार अफगानिस्तानले नेपाललाई हराउँदै विश्वकपमा छनोट हुने सपना कायम राखेको थियो । सोमबार नेपालले हङकङलाई हराएर अफगानिस्तानको त्यो सपनालाई जीवितै पारिदिएको हो ।

नेपालले हङकङसँगको खेल जितेकै कारण सुपरसिक्समा पुगेको गुन तिर्न अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिकले रोहितकुमार पौडेललाई आफ्नै ब्याट उपहार दिएका हुन् । चोटका कारण अस्घरले यो विश्वकप छनोट खेल्न पाएनन् । उनको ठाउँमा रसिद खानले कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए ।

अस्घरबाट ब्याट पाउने पौडेल हङकङसँगको खेलमा म्यान अफ द म्याच भएका थिए । नेपाललाई ५ विकेटले जिताउने क्रममा उनले ८२ बलमा नट आउट ४८ रन बनाए । छैटौं नम्बरमा ब्याटिङमा आएका उनले र सातौं नम्बरका सोमपाल कामीले नट आउट रहँदै ८९ रनको साझेदारी गरेका थिए । कामीले ३७ रन बनाए ।
सोमबार नेपालसँगको खेल जितेको भए हङकङ सुपर सिक्समा पुग्ने थियो र अफगानिस्तानको विश्वकपमा छनोट हुने सम्भावना सकिने थियो ।

Advertisements
प्रतिक्रिया दिनुहोस्