Logo

जानकी मेडिकल कलेजका व्यवस्थापक फरार, विद्यार्थी ताेडफाेडमा

रमदैयामा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरु अहिले आन्दोलनमा उत्रेका छन् ।कर्मचारीको आन्दोलनले कलेजको पठनपाठन एक महिनाभन्दा बढी समयदेखि बन्द भएको जानकी मेडिकल कलेजमा फेरि विद्यार्थीको आन्दोलनले पठनपाठन अन्योलमा परेको हो । गएको वैशाख २३ गतेदेखि कलेज तथा अस्पतालमा कार्यरत साढे ४ सय कर्मचारी बाँकी बक्यौता तलबभत्ता माग गर्दै अनिश्चितकालीन कलेज तथा अस्पालको पठनपाठनसहित सबै सेवा ठप्प गरेर आन्दोलनमा उत्रेका छन् ।

कर्मचारीको आन्दोलनले कलेज व्यवस्थापक समेत फरार हुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत्त ६५ जना विद्यार्थी प्रयोगात्मक परीक्षाबाट समेत बञ्चित भएका छन् । उनीहरुको प्रयोगात्मक परीक्षाको समय गएको वैशाख ८ गते थियो । कर्मचारीहरुको आन्दोलनको कारण परीक्षा अनिश्चित समयका लागि स्थगित भएको थियो ।परीक्षाबाट समेत बञ्चित अन्तिम वर्षका विद्यार्थीहरुले आफूहरुको भविष्य नै धरापमा पारेर व्यवस्थापन समेत फरार भएपछि बाध्य भएर शुक्रबारदेखि आन्दोलनमा उत्रेको बताएका छन् । उनीहरुले बिहानै जानकी मेडिकल कलेजको मूलद्वारमा टायर बालेर प्रदर्शन गर्नुको साथै कलेजको ज १ त ३२७ नम्बरको बसमा समेत तोडफोड  गरेका छन् ।

सम्बन्धीत निकायहरुले ध्यान नदिँदा त्यहाँ अध्ययनरत साढे ३ सय विद्यार्थीको भविष्य संकटमा परेको छ । व्यवस्थापन पक्ष समेत फरार हुँदा त्यहाँ होस्टेलमा बसेका विद्यार्थीहरुलाई खाने लाउने समेत समस्या हुनुको साथै विद्युत, सरसफाई समेत हुन सकेको छैन । त्यसैले विद्यार्थीहरु समेत तनावमा परेका छन् । उनीहरुले आफूहरुलाई उद्धार गरिदिन सबै पक्षसँग गुहार गरेका छन् ।कलेजको समस्या समाधान गर्न प्रदेश नम्बर २ सरकारले पनि पहलकदमी लिएको थियो । तर सकेन । पछि व्यवस्थापन पक्ष नै फरार भएको विद्यार्थी जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्