Logo

५ वर्षपछि ‘मेरी बास्सै’ खेल्दै धुर्मुस र सुन्तली…..(भिडियो सहित)

कुनै समय चर्चाको शिखरमा थियो हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ । नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखलाले गाउँदेखि शहरसम्मका दर्शकको मन जितेको थियो ।मेरी बास्सै’ अगाडि ‘तीतो सत्य’ र ‘जिरे खुर्सानी’ कमेडी खुराक पस्किरहेका थिए । यी दुवै सिरियलले शहरिया जनजीवनको कथा भन्थे । तर, ‘मेरी बास्सै’ले टिपिकल ग्रामीण परिवेशलाई हास्यकथामा उनेपछि दर्शकले नयाँ टेस्ट पाए ।

फलतः दीपकराज गिरीको ‘तितो सत्य’ र शिवहरि पौडेल–जितु नेपालको ‘जिरे खुर्सानीलाई उछिन्दै टेलिभिजन रेटिङमा ‘मेरी बास्सै’ अगाडि आयो ।हुन त सुरुवाती पाँच एपिसोडमा ‘मेरी बास्सै’ पनि शहरी कथामा नै बनाइएको थियो । त्यसमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काका र भतिजीको भूमिकामा अभिनय गरेका थिए ।

तर, यो त्यति जमेन । सिरियलले खासै दर्शक लोभ्याउन नसकेपछि निर्देशक दमन रुपाखेती, केदार घिमिरे (माग्ने बुढा) र सीतारामको त्रिपक्षीय गोलमेच बैठक बस्यो । वैठकले निस्कर्ष निकाल्यो, अब शहर छोडेर गाउँतिर लाग्ने ।

तीनैजना ग्रामिण पृष्ठभूमिकै कलाकार भएकाले उनीहरुलाई गाउँघरका कथाहरु टिप्न कठिन थिएन । यसअघि सीताराम र केदारले गाउँका दुई छिमेकीहरुको झगडाको विषयवस्तुलाई उनेर ‘दाइँजो’ नामको टेलिफिल्म बनाएका थिए ।

त्यही कथा मेरी बास्सैमा सापट लिएर सुरु गरियो । यही नै मेरी बास्सैका लागि नयाँ प्रस्थानविन्दू बन्यो । त्यसपछि त हरेक शुक्रबार राति नौबजे गाउँदेखि शहरसम्मका परिवार टेलिभिजन अगाडि झुम्मिन थालिहाले ।

निर्देशन दमन रुपाखेतीले गरे पनि यो श्रृंखलाका मास्टरमाइन्ड थिए, सीताराम र कुञ्जना । यो जोडी खुबै चम्कियो । सीतारामले निभाएको लठेब्रो गाउँले पात्र ‘धुर्मुस’ र केदारले निभाएको ‘माग्ने बुढा’ क्यारेक्टर पनि हिट भयो ।

अहिलेसम्म पनि यी दुई कलाकार धुर्मुस र माग्नेबुढाकै नामले चिनिन्छन् ।तर, निकै चर्चित भइसक्दा पनि सीतारामलाई बाहिर हिँड्दा कसैले चिन्दैनथे । अहिलेजस्तो स्याउँस्याउँती मिडिया पनि थिएनन् । त्यसैले उनको वास्तविक अनुहार मानिसहरुलाई थाहै भएन । विस्तारै पत्रपत्रिकामा अन्तरवार्ताहरु आउन थालेपछि मात्रै उनी चिनिन थाले ।

मेरी बास्सैको सबैभन्दा रोचक ‘सिक्वेन्स’ थियो, धुर्मुस र सुन्तली (कुञ्जना घिमिरे) को उरन्ठेउलो । तर, निर्दोष प्रेम । उनीहरुको प्रेम सम्वन्धलाई लिएर दुई छिमेकी परिवारभित्र बारम्बार नोकझोक र खिचातानी भइरहन्थ्यो । पछि कथामा धुर्मुस–सुन्तलीको बिहे गराइयो ।

रिल मात्रै होइन, रियल लाइफमा पनि सीताराम–कुञ्जना प्रेममा डुब्न पुगे । रियल लाइफमा पनि उनीहरुको बिहे भयो ।
उनीहरु घरमा पनि श्रीमान–श्रीमती र सिरियलमा पनि श्रीमान–श्रीमती बने । तर, रिल लाइफको जोडीले भने निरन्तरता पाउन सकेन । कालान्तरमा उनीहरु मेरी बास्सैबाट अलग भए ।

अहिले पनि नेपाल टेलिभिजनमा ‘मेरी बास्सै’ प्रशारण भइरहेको छ, तर पहिलेजस्तो चार्म छैन । टिमभित्रको असमझदारी र निर्माण संस्था मिडिया हबको आर्थिक संकटले गर्दा पुरानो टिम तितरबितर भइसकेको छ । सुरुमा निर्देशक–कलाकार दमन रुपाखेतीले छोडे । त्यसपछि सीताराम र केदारले मिलेर निर्देशन गर्न थाले । तर, मिडिया हबबाट पैसा नपाएको भन्दै माग्ने बुढाले पनि आफ्नो बाटो तताए ।

त्यसपछि केही समय धुर्मुस–सुन्तलीले यसलाई अघि बढाए । अन्ततः उनीहरुले पनि छोडे ।पछिल्लो समयमा केदार घिमिरे दीपकराज गिरी–दीपाश्री निरौलाको समूहमा मिसिएर चलचित्र निर्माणमा लागेका छन् ।
यो समूहले एकपछि अर्को ब्लक बस्टर दिइरहेको छ । सुरुमा धुर्मुस र सुन्तली पनि यही समूहमा थिए । तर, ६ एकान ६ र वडा नम्बर ६ पछि उनीहरु यो समूहबाट अलग भए ।

धुर्मुसहरु सामाजिक काममा बढी व्यस्त भएर चलचित्रलाई समय दिन नभ्याएको बताइए पनि सीतारामको असन्तुष्टि कथामा आफ्नो भूमिकालाई लिएर पनि थियो ।

उनी सिरियलमा हिट भएको ‘धुर्मुस’ टाइपको चरित्रबाट ‘मोनोटोनस’ भएका थिए र यसबाट बाहिर निस्किन चाहन्थे । फरक खालको भूमिका गर्ने इच्छा पूरा नभएपछि उनी टिमबाटै अलग्गिएको अनुमान पनि छ ।

दीपक–दीपाको समुहले ‘छक्का पञ्जा’ का तीनवटा सिरिज बनाएर पैसा बटुलिरहँदा सीताराम–कुञ्जना चाहिँ जनतासँग पैसा मागेर विभिन्न बस्ति निर्माणमा सक्रिय भए । बेलाबखत देश र विदेशका स्टेज कार्यक्रममा सहभागी हुनुबाहेक उनीहरुको कलाकारितामा लगभग विश्राम नै लाग्यो ।

जनसहयोग जुटाएरै उनीहरुले चारवटा बस्ति निर्माण गरिसकेका छन् । अहिलेचाहिँ देशकै पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा अहोरात्र जुटिरहेका छन् ।

चितवनमा रंगशाला निर्माणको दबाब र व्यस्तताका बीच नै सीताराम–कुञ्जना पनि चलचित्र निर्माणमा अग्रसर भए । उनीहरुले निर्माण गरेको ‘सेन्टी भाइरस’ चलचित्र प्रदर्शनको संघारमा छ । चलचित्रमा लगानी भने डिण्डु लामाले गरेका छन् ।

अहिले रंगशाला निर्माणसँगै चलचित्र प्रदर्शनको चटारोमा छन् सीताराम–कुञ्जना । र, यही चलचित्रले पाँच वर्षको अन्तरालपछि यी दुईलाई ‘मेरी बास्सै’ मा फर्काएको छ । दर्शकहरुले मेरी बास्सैको आगामी एपिसोडमा उनीहरुलाई देख्न पाउने छन् । तर, केवल एक एपिसोड मात्रै । ‘सेन्टी भाइरस’ को प्रबद्र्धनका लागि यो श्रृंखला निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्