Logo

दलित अधिकारकर्मी खगेन्द्र सुनार र अगुवाहरूद्वारा संयुक्त आन्दोलन गर्ने घोषणा

काठमाडौं, १५ चैत्र । दलित अधिकारकर्मी तथा अगुवाहरुले दलित समुदायको मागप्रति राज्यको ध्यानाकर्षण गराउन संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । दलितका लागि दलित अभियान नेपालले सुर्खेतको बाबियाचौरमा आयोजना गरेको समुदाय जागरण सभाका सहभागी अगुवाहरुले अधिकार प्राप्तीका लागि शसक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेदका घटना दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले त्यसका विरुद्ध राज्य गम्भीर हनुपर्ने बताए । उनले भने,‘राज्य गम्भीर नभए समुदायको रक्षाका लागि आयोग र दलित समुदाय एक भएर लड्नुपर्छ ।’ दलित आयोग संवैधानिक भएपनि स्रोत साधनको अभाव र राज्यको हेपाह प्रवृतिले गर्दा समुदायले महशुस गर्नेगरि काम गर्न नसकेको उनको गुनासो छ ।

‘आयोगको सहल्लाह सुझाव वा निर्देशन त सरकारले कार्यान्वयन गर्दैन, जनताको के कुरा, परिस्थीतिको निर्माण भयो भने सशक्त आन्दोलन गर्नपर्नेछ । हामी त्यसको लागि तयार हुनुपर्छ ।’–उनले थपे ।

कार्यक्रमका अर्का अतिथी कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहदा पनि दलितको विधेयक नबन्नु लज्जास्पद भएको टिप्पणी गरे ।

देशको सबैभन्दा धेरै दलित कर्णालीमा छन् सदस्य परियारले भने तर दलितका लागि एक पनि काम भएको छैन, अर्को पटक के मुख लिएर जनतामा जाने ? हुम्लाबाट निर्वाचित सांसद परियारले हुम्लामा मरे घाट पाईदैन, बजारमा सुत्ने खाट पाईदैन, सरकार हाम्रो कुरा सुन्दैन भने एकपटक पार्टी भन्दा माथि उठेर समुदायको लागि लड्न तयार हुनुपर्नेमा जोड दिए ।

माओवादीबाट निर्वाचित सांसद परियारले भएको उपलव्धीलाई जोगाउदै समुदायको अधिकार प्राप्तीका लागि लाग्नुपर्ने बताए ।
त्यस्तै चौकुने गाउँपालिकाका सुर्खेत अध्यक्ष खड्ग विश्वकर्माले परिवर्तनको लडाईमा अग्रमोर्चामा रहेका दलित अधिकार प्राप्तीमा भने सबैभन्दा पछाडी रहेको उल्लेख गरे । उनले भने,‘ठुलो लडार्इं र बलिदानबाट प्राप्त भएको व्यवस्थामा पनि दलित मारिनु, बालात्कारमा पर्नु लज्जाको विषय हो । पद त्यागेर पनि समुदाय जोगाउने आन्दोलनमा लाग्नुपर्छ भने म तयार छु ।’

कार्यक्रम आयोजक दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलित लागि दलित र आफ्नो लागि आफै लड्नुको विकल्प नभएको बताए । हिजोसम्म अरुका लागि लगिएको स्मरण गराउँदै अब आफ्नो लागि लड्ने बेला आएको सुनारको भनाई थियो । उनले भने–‘युद्ध लड्न होस वा चुनाव लड्न दलित आफै तयार हुनुपर्छ ।’

नवराज वि.कको मृत्युबाट आफ्नो अभियान सुरु भएको बताउदै उनले दलितलाई आत्मसम्मान नदिए दलित हत्याको बदला लिने चेतावनी दिए । ‘हाम्रो आन्दालन जारी छ’–संयोजक सुनारले थपे–‘अधिकार प्राप्त नभएसम्म सडकमै हुन्छौं ।’

चर्चित लोक दोहोरी गाएक राजु परियारले अहिलेपनि छुवाछुत भेदभावको गीत गाउन पर्दा पीडा हुने बताए । उनले आफ्ना चर्चित तथा लोकप्रीय गीतहरु कार्यक्रममा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सबै राजनीतिक दलका दलित संगठनका प्रमुख प्रतिनिधि, जन प्रतिनिधि, व्यापारी व्यवसाय दलित अधिकारकर्मी, पत्रकार कलाकार अभियन्तासहित हजारौ दलितहरुको सहभागीता थियो । दलितका लागि दलित अभियान नेपालले कर्णाली, लम्बिनी, सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा समूदाय जागरण सभा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्