Logo

एक समयका निकै व्यस्त र चर्चित हिरोइनका हालचाल : कोही घरजममै व्यस्त, कोही अमेरिकामै मस्त

काठमाडाैं : डेढ दशकअघि निरुता सिंह निकै व्यस्त र चर्चित थिइन् । वरिष्ठ निर्देशक तुलसी घिमिरेले दक्षिणा फिल्मबाट डेब्यु गराएपछि केही समय निरुता घिमिरेकै फिल्महरूमा व्यस्त भइन् ।उनले दक्षिणापछि रहर, मीतज्यू, साइत, दर्पण छायालगायतका फिल्ममा अभिनय गरिन् । उनी अभिनीत दर्पण छाया सुपरहिट भयो ।पहिलोपटक उनले घिमिरे क्याम्पको दयाराम दाहाल निर्देशित ठूल्दाइ फिल्ममा अभिनय गरिन् । त्यो फिल्म पनि सुपरहिट भयो । त्यसपछि निरुताले केही वर्षपछाडि फर्केर हेर्नुपरेन ।तर, दिन सधैँ एकैनास कहाँ हुदोरहेछ र ? निरुताका फिल्म पनि लगातार फ्लप हुन थाले । दर्पण छाया, ठूल्दाइ, आफन्त, आफ्नो मान्छे, आफ्नो घर आफ्नै मान्छे, कर्तव्यलगायतका थुप्रै हिट फिल्म दिएकी निरुता फिल्म चल्न र अफर आउन कम भएपछि आफ्नो जन्मदेश भारत फर्किइन् ।त्यसपछि उनी इन्टेरियर डिजाइनिङ कार्स गर्ने भनेर मुम्बई बस्न थालिन् । तर, बीच–बीचमा उनी काठमाडाैं भने आइरहन्थिन् । मुम्बई गएको केही वर्षपछि उनी फर्केर आई द गेम र मलाई मन प-यो नामक दुई फिल्ममा अभिनय गरिन् । तर, ती दुवै फिल्म चलेनन् ।

त्यसपछि निरुता मुम्बईमै बस्न थालिन् । गत भदौमा उनलाई दर्शकले लामो समयको अन्तरालपछि नाइँ नभन्नु ल ५ मा केमियो रोलमा देख्न पाए ।उनै निरुता अहिले काठमाडौं आएकी छिन् । उद्देश्य हो, दाल भात तरकारीको । अर्थात उनले मह सञ्चारको निर्माणमा बन्न लागेको दाल भात तरकारी फिल्ममा विशेष भूमिका निर्वाह गर्दै छिन् ।‘जहाँ रहे पनि फिल्म अभिनयप्रतिको मोह घट्दो रहेनछ,’ निरुता भन्छिन्, ‘दर्शकको मायाले फेरि एकपटक पर्दामा आउन लागेकी छु ।’ आफूलाई प्रस्ताव आएमा फिल्म खेलिरहने मनसुवा उनको छ ।

निरुतासँगै चर्चित थिइन्, जल शाह । प्रकाश सायमीको अवतार फिल्मबाट डेब्यु गरेकी जलले पनि थुप्रै हिट फिल्म दिइन् । एकताका जल र निरुतालाई प्रतिस्पर्धीका रूपमा हेरिन्थ्यो ।जल पनि आफू अभिनीत फिल्म असफल हुँदै गएपछि अमेरिका उडिन् । उतै बिहे गरेर एक छोरीकी आमासमेत भइसकेकी जल केही समयअघि काठमाडाैं आएकी थिइन् ।फिल्म अभिनयप्रतिको चाहना नघटेको भए पनि अस्वभाविक मोटाइका कारण उनी पुनः फिल्ममा देखिने सम्भावना भने न्यून नै छ ।बिहेपछि फिल्म अभिनय छाडेकी विपना थापा वेलाबखत माइत (काठमाडौं) आइरहन्छिन् । तर, उनी पुनः फिल्म अभिनयमा देखिइहाल्ने योजनामा भने छैनन् ।एक सन्तानकी आमा विपनाले वरमाला फिल्ममा सहनिर्माता भारतीय नागरिक आशुतोष भारद्धाजसँग बिहे गरेकी हुन् ।

युवराज लामाको खानदान फिल्मबाट पर्दामा डेब्यु गरेकी रेजिना उप्रेतीलाई पनि दर्शकले पर्दामा देख्न नपाएको धेरै भयो । चार वर्षअघि बिहे गरेर हाल एक छोरीकी आमासमेत बनिसकेकी रेजिनाले वरदान नामक फिल्म पनि निर्माण गरिन् ।वरदान नचलेपछि उनको अभिनय करिअर पनि ओरालो लागेको हो । कलाकार संघकी उपाध्यक्ष रहेकी रेजिना फिल्ममा नभए पनि कलाकार संघले आयोजना गर्ने कार्यक्रमहरूमा भने देखिइरहेकी हुन्छिन् ।चुम्बन दृश्यका कारण एक समय चर्चामा आएकी सोनीका केसीले सिलसिला, राजभाइ, म बिर्सु कसरी, विरासत, तिम्रो घर मेरो ससुरालीलगायतका झन्डै एक दर्जन फिल्ममा अभिनय गरिन् ।फिल्ममा आफ्नो करिअर उँचो बनाउन नसकेपछि उनले पनि घरजमको बाटो रोजिन् । उनकी पनि एउटी छोरी छिन् ।झन्डै डेढ दर्जन फिल्ममा अभिनय गरे पनि करिअर अघि बढाउन नसकेकी जेनिसा केसी अचेल मुम्बईमा संघर्षरत छिन् ।

काठमाडाैंमा हुँदा उनलाई अभिनेता विराज भट्टले फिल्म दिलाउन निकै सहयोग गर्दथे । उनले मुम्बईमा बनेको एउटा भोजपुरी फिल्ममा आइटम डान्स गरेकी छिन् । सो आइटम केही समयअघि सार्वजनिक भएको थियो ।निकै तामझामका साथ प्रदर्शन भएको दुलही फिल्मबाट पर्दामा देखिइन्, सुमीना घिमिरे । दुलहीले निर्मातालाई नाफा नदिए पनि सुमीनाले फिल्म भने पाइनै रहिन् ।दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी सुमीनाले अभिनय छाडेर घरजम गरिन् । पाइलट रोशन सापकोटासँग विवाह गरेकी उनी पनि एक पुत्रीकी माता भइसकेकी छिन् । सुमीना पुन फिल्म अभिनयमा फर्कन चाहिनन् ।

कुनै समय अनेक क्रियाकलाप र गतिविधिका कारण दर्शक, फिल्मकर्मीमा आफ्नो वेग्लै परिचय बनाएका थुप्रै हिरोइनले अभिनय यात्रालाई निरन्तरता दिन सकेनन् । तर, सोही समयमा उदाएका तथा त्यसपछि उद्योगमा आएका केही हिरोइन भने लामो समय चल्तीमा रहे ।०५६ सालमा बनेको हिरो फिल्मबाट हिरोइन बनेकी रेखा थापा अहिले पनि उत्तिकै सक्रिय छिन् । फिल्म अभिनय, निर्माण र निर्देशन र राजनीतिमा समेत उत्तिकै व्यस्त रेखा अचेल भने फिल्मबिहीन छिन् ।उनको निर्माण, निर्देशन र प्रमुख अभिनय रहेको हालै प्रदर्शित मालिकाले दर्शक रिझाउन सकेन । हुन त यसअघिका उनी अभिनीत डायरी, पलास, रुद्रप्रिया र राज्जा रानी पनि असफल भएका थिए । मालिकाको असफलताका कारण रेखा तत्काल नयाँ फिल्म बनाउने मुडमा छैनन् ।

रेखा सँगसँगै हिरोइन बनेकी झरना थापाले भने अचेल फिल्म निर्माण र निर्देशनमा आफूलाई अब्बल साबित गर्दै लगिरहेकी छिन् । झरनाले निर्देशन गरेको ए मेरो हजुर–२ गत वर्ष हिट भयो ।यो खबर काठमाडौँबाट प्रकाशित हुने ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।अचेल उनी ए मेरो हजुर–३ को निर्देशनमा व्यस्त छिन् । झरना अब अभिनयभन्दा पनि निर्माण र निर्देशनमै आफूलाई सक्रिय गराउने सोचमा छिन् ।अहिलेकी चर्चित हिरोइन प्रियंका कार्की अचेल योगेश घिमिरेको प्रेम दिवस फिल्मको सुटिङमा व्यस्त छिन् । त्यसैगरी, अर्की चर्चित हिरोइन साम्राज्ञी शाहले भने नवल नेपालको अनाम फिल्ममा अनुबन्धित भई सुटिङको पर्खाइमा छिन् ।वर्षा शिवाकोटी मिलन चाम्सको वीर विक्रम–२ सुटिङको पर्खाइमा छिन् । त्यसैगरी, अनु शाह, शिल्पा पोखरेल, निता ढुंगाना, सविना कार्कीलगायतका हिरोइन म्युजिक भिडियोको सुटिङमै रमिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्