Logo

कार सर्भिसिङ गर्न दिँदा महिलाले भनिन् ‘चाहे जेसुकै होस्, कुनै हालतमा डिक्की नखोल्नू’

एजेन्सी – फ्रान्समा एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । यहाँ एक कार मेकानिकले आफूकहाँ कार सर्भिसिङ गर्नका लागि दिइएको कारकी मालिक्नीले भनेको नमानेर उत्सुकतावश कारको डिक्की खोल्दा डरलाग्दो घटना खुलेको हो । ती महिलाले आफू गर्भवती भएर बच्चा जन्माएको कुरा लुकाउनको लागि दुई वर्षसम्म आफ्नी छोरीलाई कारको डिक्कीमा लुकाएर राखिन् । जब मेकानिकले उत्सुकतावश डिक्की खोले तब घटनाको खुलासा भयो ।

डिक्कीभित्रको हालत देखेपछि मेकानिकको सातो गयो । डिक्कीमा एउटा बक्सभित्र एक कुपोषित बालिका सुतिरहेकी थिइन् । ती बालिका कुपोषणको कारण मृत्युको मुखमा थिइन् । यही सोमबार यो मुद्दामा अदालतमा भएको सुनुवाइमा निकै डरलाग्दा तथ्यहरु खुलेका छन् । फ्रान्सको टेर्रासन लेविलेडियुमा बस्ने ५० वर्षकी रोजा मारिया डा क्रुज नामकी महिलालाई बालिकालाई कुपोषित गरी हत्या गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको थियो ।

रोजाका पहिल्यै तीन सन्तान थिए । उनले चौथो पटक गर्भवती भएको खबर पाएपछि निकै डराइन् । रोजाले आफू चौथोपटक गर्भवती भएको खबर आफ्ना छोराछोरी र पतिलाई दिन चाहन्नथिन् । त्यसैले उनले सबैबाट लुकाएर बालिकालाई जन्म दिइन् । त्यसपछि उनलाई ग्यारेजमा आफ्नो कारको डिक्कीमा लुकाएर राखिन् ।

एक दिन रोजाले आफ्नो कार मर्मतका लागि लिएर गइन् । उनले मेकानिकलाई कडा निर्देशन दिएकी थिइन् कि जेसुकै होस् कारको डिक्की नखोल्नू । उनले डिक्कीमा निकै मिलाएर पूरै भरेर सामान राखेकोले खोलेमा सामान मिलाउन गाह्रो हुने बताएकी थिइन् । उनी गएपछि कारबाट अनौठो आवाज आउन थाल्यो । मेकानिकलाई लाग्यो कि डिक्कीभित्र कुनै जनावर फसेको छ । त्यसपछि मेकानिकले मालिकको आदेश विपरित डिक्की खोले ।

मेकानिकले जब भित्रको हाल देखे उनको होस उड्यो । डिक्कीभित्र एउटा बक्समा पूर्णतया नाङगो हालतमा एक बालिका सुताइएकी थिइन् जो कुपोषणका कारण निकै दयनीय हालतमा थिइन् । मेकानिकका अनुसार भित्रबाट यति भयानक दुर्गन्ध आइरहेको थियो कि त्यहाँ उभिन पनि सकिँदैनथ्यो । दुई वर्षकी बालिका कुपोषणको शिकार थिइन् र उनको सामान्य विकास पनि भएको थिएन ।

मेकानिकले मालिक्नी रोजालाई भन्दा पहिले इमरजेन्सी नम्बरमा फोन गरेर घटनाको जानकारी दिए । बालिकालाई प्राथमिक उपचार दिन पुगेको टिमले बताए कि यदि डिक्की नखोलिएको भए आधा घण्टाभित्रमा बालिकाको ज्यान जान्थ्यो । पुलिसले रोजा र उनका पति दुवैलाई पक्राउ गर्यो । उनीहरुविरुद्ध नवजातमाथि भयानक हिंसाको आरोप लगाइ मुद्दा चलाइयो । उनीहरुका तीन सन्तानसहित २ वर्षकी बालिकालाई केयर होम पठाइयो ।

यद्यपि रोजाका पतिको यो तर्क अदालतले मान्यो कि उनलाई बालिकाको बारेमा केही जानकारी थिएन । रोजाका पतिलाई ससम्मान रिहा गरियो र उनका तीन बच्चाहरु पनि पितासँगै घर फर्के । नवजातलाई अझै पनि विशेषज्ञको निगरानीमा राखिएको छ । रोजा जेलमै छिन् र उनीविरुद्ध मुद्दाको सुनुवाइ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्