Logo

विश्वकपका लागि खेलाडी रिलिज गर्ने क्लबलार्इ फिफाले २० करोड ९० लाख डलर दिने

रुस विश्वकपमा खेलाडी रिलिज गर्ने क्लबलार्इ फिफाले क्लब बेनेफिट प्रोग्रामबाट २० करोड ९० लाख डलर दिने भएको छ । यो रकम ६३ देशका ४ सय १६ क्लबलाई बाँडिने छ जुन ब्रजिल विश्वकपमा दिइएको रकम भन्दा दोब्बर हो ।

हरेक विश्वकप अगाडि खेलाडीलार्इ विश्वमा रहेका ४ सयभन्दा बढी क्लबले रिलिज गर्छ । जस बापत फिफाले उनिहरूलाइ क्षतिपूर्ति रकम उपलब्ध गराउने गर्छ । यसै सिलसिलामा फिफाले क्लबहरूलाइ यति ठूलो रकम दिएको हो ।

हरेक क्लबले विश्वकपमा सहभागी टिममा परेका खेलाडी संख्याका आधारमा रकम पाउनेछन् । यो हिसाबले विश्वकपमा सबैभन्दा धेरै रकम पाउनेमा म्यानचेस्टर सिटी, रियल मड्रिड, टोटेनह्याम, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, चेल्सी, म्यानचेस्टर युनाइटेड, एट्लेटिको मड्रिड, युभेन्ट्स र मोनाको छन् ।

साथै एसिया, अफ्रिका र अमेरिकाका क्लबहरूले पनि १० लाख डलरभन्दा बढी रकम पाउने छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दा खेलाडी घाइते भएर फर्किने गरेको भन्दै विरोध जनाउन थालेपछि २०१० को विश्वकपदेखि फिफाले यो योजना सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्