Logo

भन्सारले क्वीन्टलका क्वीन्टल सुन छिर्दा नदेख्ने तर गरीब नेपालीले ल्याएको एक टुक्रो सुनमा आँखा गाड्दै छ, के यो सुहायो ?

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाई गरेको छ । योसँगै विदेशबाट रगत पसिना बगाएर कमाएका नेपालीले ल्याएको सामानहरु २ करोड भन्दा बढी मुल्यमा लिलामीका लागि सुचना निकालेको छ ।विदेशमा दुख गरेर आफ्नो परिवार, आफन्तका लागि २/४ वटा सामान ल्याउन बढी लचकता देखाएर अन्य यात्रुलाई भन्दा वैदेशिक रोजगारीमा गएका नेपालीलाई भरपुर सुविधा दिनु त कहाँ हो कहाँ उल्टो तिनैलाई कडाई गर्नुपर्ने कारण के आइलाग्या होला ?

देशको नियम कानुन नमान्ने भन्ने होइन त नियम सुहाउँदो हुनु प¥यो । तिनै दाजुभाई दिदी-बहिनीका पसिनाबाट आएको रेमिट्यान्स चाँही प्रिय हुने अनि तिनले ल्याएका २/४ पोका सामानमा के आँखा गाडेको होला भन्सारले । क्वीन्टलका क्वीन्टल सुन छिर्दा नदेख्ने भन्सार गरीब नेपालीले ल्याएको एक टुक्रो सुनमा आँखा गाड्दै छ, के यो सुहायो ? कोही कोही मानिस मदिरा बाहेक अरु सामानमा कडाइ नगरे हुन्थ्यो भनिदिएका छन् । घर परिवार साथी भाईका लागि ल्याएको १-२ बोतल रक्सी नि रोक्नु ? सुट लाएका, धनी मानिहरुले २-४ सय जोगाउन सुटकेश भित्र रक्सीका बोत्तल मजाले ल्याउँछन् ।

भन्सारले सुकिलाहरुको सुटकेश चेक गर्छ ? धनाढ््यहरुलाई त २-४ सयको लोभ हुन्छ भने गरीब नेपालीका छोराहरुलाई पसिनाको खोला बगाएर कमाएको पैसाको मायाँ लाग्दैन ? मध्यपान स्वास्थ्यका लागि हानिकारक छ, त्यो कुरा पछि गराँैला तर गाँउघरका साथीभाई इष्टमित्र मिलेर हल्का रमाइलो गर्न मन नलाग्ने को छ ? रक्सी सेवन नगराँै यो कुरा पछि गरौँला । यसका विरुद्ध कुन कुन कानुन आकर्षित हुन्छन्, लगाआँै तर गरीब नेपालीको लगेज मात्र होइन अण्डरवेयर नै चेक गर्ने सुकिला मुकिलालाई नमस्ते र सलाम ठोक्ने, चेक नगर्ने जस्तो विभेद गलत हो । कुरा उठी हाल्यो, अब यो पनि सुन्नुस् ।

खैरो छाला भएको, अत्तर वास्ना आउने कुइरे, कुइरिने चाँही सर र म्याडम अनि मेहनतको पसिना, वासना आउने नेपालीलाई चाँही ओइ भनेर सम्बोधन, रुखो स्वर, गोलभेडा जत्रो आँखा ? एक कप कफी र एक टुक्रो पाउरोटी टोकेर दिनभरी एउटा कुनामा किताब मात्र पढेर बस्ने टुरिष्ट भन्दा, वैदेशिक रोजगारीबाट फर्केकाले आन्तरिक पर्यटनलाई सय गुणा बढी टेवा पु¥याएका छन् । नेपालीहरु ४-५ जना कही पनि घुम्न गए पनि कसरी छुट्टी मनाउँछन् । १ कप कफी र एक टुक्रा पाउरोटी होइन, उ त्यो भाले काट्नुस्, त्यो बोका वा खसी छिनाल्नुस, हाँस पोल्नुस्, दाल झान्नुस्, भात बसाल्नुस्, अचार साँध्नुस नपुगेको अर्को भाले पोल्नुस्, यो ल्याउनुस्, त्यो ल्याउनुस् । उस्तै पसलको सारा सामान ५-६ जनाले सिध्याउँछन् । तर मुस्कानसहितको कष्टमर सर्भिसचाँही कफी र पाउरोटी वालाले लान्छ । जति दुख गरेपनि दिल खोलेर पैसा खर्च गर्न नेपालीलाई कसैले सक्छ ?

देश भरीका सपिङ सेन्टर, रेष्टुरेण्ट, बार फन पार्क यस कारणले चलेका छन् कि नेपाली दाजुभाई, दिदीबहिनीहरुले विदेशमा पसिना बगाएका छन् । विदेशमा दुख गरेर जन्मथलो आउने नेपालीलाई अरु कसैलाई भन्दा बढी सम्मान दिनु पर्छ । कारण यो देशको इकोनोमीमा सम्भवत सर्वाधिक टेवा यिनै नेपालीले पु¥याएका छन् । मिल्छ भने वैदेशिक रोजगारीबाट फर्किनेहरुलाई प्लेनबाट ओर्लने वित्तिकै रेड कार्पेटमा स्वागत गरौं । देशका लागि गफ बाहेक, खासै योगदान नदिने सबै हैन धेरै राजनीतिज्ञलाई केका लागि भिआइपी र भिभिआइपी बाटो र कोठा ? यो देशको अर्थतन्त्रमा ठुलो योगदान दिने यस्ता नेपाली हुन भिभिआइपी । कामदार मात्र होइन उच्च शिक्षा लिएर फर्केका नेपालीलाई समेत भिभिआइपी ट्रिट गरिनुपर्छ । केही एयरपोर्ट कर्मचारी तथा विदेशमा रहेको एरलाइन्स स्टाफहरुको मिलेमत्तोमा नेपालीहरुलाई सुन, मोवाइल जस्ता सामान बोकाएर पठाइन्छ । यता एरपोर्ट झर्ने वित्तिकै एउटाले कलेक्सन गर्छ ।

यसमा धेरैको मिलेमत्तो छ । हो यो कुरामा बरु ध्यान दिनु प¥यो । २ करोडको लोभमा, वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफ्नो देशको एयरपोट भन्सारमा नाङ्गे झार पार्न जनताको सरकारलाई सुहाउँदैन । सरकार, परिवारबाट विछडिएर, २ पैसा कमाई, जहान छोराछोरी, बा आमा पालिरहेका मेहनती नेपालीहरुको हितमा नदेखिएको वर्तमान झिटिगुन्टा आदेश तुरुन्त सच्चाउ । देशमा अवसर नपाएर विदेसिएका युवाहरुले ल्याउने लत्ता, कपडा, मोवाइल, रक्सी, इलेक्ट्रोनिक्स सामानमा गिद्धे नजर नलाएको नै जाती । हैन दुखी नेपालीबाट अझै कर उठाउन मन छ भने यसो गरौं । सुनिन्छ, प्रत्येक दिन ३-४ जना नेपालीहरु काठको रातो बाकसमा फर्किन्छन् । दिनको ४ जनाको हिसाबले वर्षमा १४६० जना बाकसमा आउँछन्, यी लाशमा पनि भन्सार लगाइदेऊ । त्यसरी विदेशी भुमिमा सित्तैमा मर्न पाइन्छ ? रातो बाकसमा आउन पाईन्छ ? भन्सार तिर्न पर्दैन ?

प्रतिक्रिया दिनुहोस्