Logo

नेपालबाट भारतीय विमान अपहरण गरी जन्मिएका मसूद अजहर मोदीको लागि टाउको दुखाई

भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौज सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआपिएफ) लाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । उक्त आक्रमणमा परी अन्य २० घाइते भएको बताइएको छ ।

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ४० सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताए । आक्रमणमा परेर घाइते भएका सुरक्षाकर्मीहरुलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार भएको आत्मघाती आक्रमण जैश-‍ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ। दिल्लीले पाकिस्तानी भूमिबाट सञ्चालित सो लडाकु समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादीमा सूचित गर्न माग राखेको छ।

भारत प्रशासित कश्मीरमा बिहीवार भएको आक्रमण त्यहाँ भारतीय शासनविरुद्ध सन् १९८९ मा विद्रोह सुरु भएयताकै सबैभन्दा नराम्रो भएको मानिएको छ।इस्लाम धर्मगुरु मौलाना मसूद अजहरले सन् २००० मा स्थापना गरेको यो उग्रवादी समूहलाई विगतमा भारतीय भूमिमा भएका कतिपय घटनाहरूका लागि जिम्मेवार मान्ने गरिएको छ।

त्यस्ता घटनामा सन् २००१ मा भारतीय संसद्‌मा भएको आक्रमण पनि पर्छ जुन कारणले भारत र पाकिस्तानबीच झन्डै लडाइँ भएको थियो । उक्त समूहले कश्मीरमा आत्मघाती बम आक्रमण गर्न थालेको ठानिन्छ। सन् २००० मा पहिलोपल्ट त्यस्तो आक्रमण गरिएको थियो। उक्त समूहलाई भारत, यूके, अमेरिका र संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी सङ्गठन भनेका छन्। सन् २००२ देखि सो समूह पाकिस्तानमा पनि प्रतिबन्धित रहेको छ।

तर मसूद अजहर फरार रहेका छन्। उनी पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर क्षेत्रमा सक्रिय रहेका भन्ठानिएको छ। उनलाई संयुक्त राष्ट्रसङ्घमार्फत् नै आतङ्ककारी घोषित गर्ने भारतको विगतको प्रयासलाई चीनले रोक्दै आएको छ। भारतले ती मौलानालाई सुम्पन पाकिस्तानसमक्ष राखेको मागलाई इस्लामाबादले प्रमाणको अभाव भन्दै अस्वीकार गर्दै आएको छ।

जैश-ए-मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई सन् १९९४ मा हरकत-उल-मुजाहिद्दिन नामक उग्रवादी सङ्गठनको सदस्य भएको अभियोगमा भारतीय सुरक्षा सैन्यले गिरफ्तार गरेका थिए। सन् १९९९ को डिसेम्बर २४ तारिखमा एउटा भारतीय विमान नेपालको राजधानी काठमाण्डूबाट अपहरण गरेर कान्दाहार पुर्‍याइएको थियो। त्यसपपछि बन्दी साटासाट गर्दा भारतीय जेलमा रहेका अन्य उग्रवादीहरूसँगै मसूद अजहरलाई पनि रिहा गरिएको थियो ।

त्यसलगत्तै उनले जैश-ए-मोहम्मद को स्थापना गरेका बताइएको छ। त्यसपछि उक्त समूहमा त्यस समय सक्रिय रहेका हरकत-उल-मुजाहिद्दिन र हरकत-उल-अन्सार आदि उग्रवादी सङ्गठनहरू मिसिन पुगेका थिए। स्थापनाको दुई महिनाभित्रै जैश-ए-मोहम्मदले श्रीनगरस्थित भारतीय सेनाको स्थानीय मुख्यालयमा आत्मघाती बम हमला गरेर त्यसको जिम्मेवारी दाबी गरेको थियो।

कश्मीरका विभिन्न स्थानमा आक्रमण गरेको जैश-ए-मोहम्मदले सन् २००१ को १३ डिसेम्बरमा भारतको संसद् भवनमा र सन् २०१६ को जेनुअरी महिनामा पन्जाबको पठानकोटस्थित वायुसेनाको अखडामा भएको आक्रमण पनि गराएको ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्