Logo

इमरान खानको भारतलाई चेतावनी ‘कुरा गर्ने भए आऊ, निहुँ खोजे सोच्दै नसोची ठोक्दिन्छौं’

काठमाडौं – कश्मिरको पुलावामामा आतंकवादी आक्रमणमा ४० भारतीय सैनिक मारिएको घटनामा भारतले पाकिस्तानमाथि निरन्तर आरोप लगाएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान आक्रमक रुपमा प्रस्तुत भएका छन् । १४ फेब्रुअरीमा भएको आक्रमणको घटनाप्रति पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री इमरान खानले भारतलाई आतंकवाद सबैको समस्या भएकोले बिना आधार आरोप लगाउन छाडेर छलफलबाट समस्याको समाधान खोज्न भनेका छन् ।

घटनापछि अहिले भारतीयहरु सबैले पाकिस्तानमाथि आरोप लगाइरहेका छन् । यहाँसम्म कि भारतीय मिडियाहरुले समेत आतंकवादी आक्रमण पाकिस्तानकै संलग्नतामा भएको ठोकुवा गर्दै भारतले पाकिस्तानसँग बदला लिनुपर्ने कुरा चर्को रुपमा उठाइरहेका छन् । यो आक्रमणको जिम्मेवारी जैश ए मोहम्मद नामको आतंकवादी संगठनले लिएको थियो । तर, भारतीय मिडिया भने जैश ए मोहम्मदलाई पाकिस्तान सरकारले संरक्षण गरेको आरोप लगाउँदै आएका छन् ।

इमरान खानले भारतलाई लक्षित गर्दै भने ‘पहिले त तपाइँले बिना प्रमाण आरोप लगाउनुभयो । यतिबेला पाकिस्तानको लागि साउदी राजकुमारको भ्रमण निकै अहम थियो । यो बेलामा हामी यस्तो (आतंकवादी आक्रमण) गराउँछौं ? जब पाकिस्तान स्थायित्वतर्फ बढिरहेको छ भने हामी यस्तो किन गर्छौं ?’ प्रधानमन्त्री खानले अगाडि भने ‘पाकिस्तानलाई यसबाट के फाइदा हुन्छ ? मैले पटक–पटक भनिरहेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान त आफैं आतंकवादीका कारण हैरान छ ।’

प्रधानमन्त्री खानले कश्मिर विवादका विषयमा भारतलाई छलफलको लागि आमन्त्रण गरे । उनले भने ‘म तपाइँलाई प्रस्ताव गरिरहेको छु कि तपाइँ आउनुहोस् र जाँच गर्नुहोस् । यदि कसैले आतंकवादको लागि पाकिस्तानको जमिन उपयोग गरिरहेको छ भने त्यो हाम्रो दुश्मन हो । आतंकवाद पूरै क्षेत्रको समस्या हो । हाम्रो सय अर्ब डलर आतंकवाद नियन्त्रणमै बर्बाद भएको छ । भारतमा नयाँ सोच आउनुपर्छ ।’

प्रधानमन्त्री खानले अगाडि भने ‘छलफलबाटै समस्याको समाधान हुन्छ । के भारतले यसको बारेमा सोच्नु पर्दैन ? भारतको मिडिया र राजनीतिमा सुनिएको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ त्यसैले भारतले आक्रमण गर्नुपर्छ । यदि तपाइँलाई लाग्छ क तपाइँले पाकिस्तानमा आक्रमण गर्दा पाकिस्तानले सोच्छ भने त्यो गलत हो । पाकिस्तानले सोच्दैन, सोच्दै नसोची जवाफ दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्