Logo

भारतले बम हानेको ठाउँमा एक जनाभन्दा बढी घाइते भेटिएनन्: अन्तर्राष्ट्रिय मिडिया

मंगलार (१४ गते ) बिहान उज्यालो नहुँदै भारतीय वायु सैनिक जहाजले पाकिस्तान भूमिमा पसेर बम खसाले।

फ्रेबुअरी १४ (फागुन २) को पुलवामा आक्रमणको जिम्मा लिएको जैस-ए- मोहम्मदको तालिम केन्द्रमा १ हजार किलोग्रामका बम खसालिएको भारतीय पक्षले दाबी गर्‍यो।

भारतीय विदेश मन्त्रालयले आक्रमणबाट जैस-ए-मोहम्मदका तालिम केन्द्र ध्वस्त भएको र उसका कमाण्डरसहित सैयौं मारिएको दाबी गर्‍यो।

भारतीय मिडियाले सैन्य अधिकारीलाई उद्धृत गर्दै ३ सयदेखि ४ सय आतंककारी मारिएको समाचार प्रसारण गरे। जसको कुनै आधार थिएन।

पाकिस्तानी सेनाले बम जंगलमा खसेको र कसैको पनि मृत्यु नभएको बतायो।

उसले आफ्नो भनाइ सत्य नलागे घटनास्थलमा गएर सत्यतथ्य बुझ्न पनि अन्तर्राष्ट्रिय मिडियालाई अनुरोध गर्‍यो।

पछि पाकिस्तानी सेनाले बीबीसी, अलजजिरा र रोयटर्सलगायत सञ्चारमाध्यमलाई घटनास्थल बालाकोट लिएको थियो।

घटनास्थलमा पुगेका अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिले स्थानीय, नजिकैका अस्पतालका अधिकारसँग कुराकानी गरे भने घटनास्थलको पनि अवलोकन गरे।

बीबीसीसँग कुरा गर्दै घटनामा घाइते भएका नुरान शाहले भने- त्यो रात म सुतेको थिएँ। बमको ठूलो आवाजले म ब्युझिएँ। म उठ्दा ठूलो आवाज आयो। मैले बाहिर निस्कन खोजें। म घरको ढोकानेर पुग्दा तेस्रो पटक आवाज आयो जुन मेरो घरदेखि १५ मिटरमात्र टाढा थियो।

उनले विस्फोटबाट आफ्नो घरमा झ्याल ढोका भत्केको तर आफू, श्रीमती र छोरी भने बाँचेको बताए।

एक विद्यार्थीले बिहान पाकिस्तानी सेना आएको र त्यसपछि त्यहाँ जानआउन नदिएको बताएको बीबीसीले लेखेको छ।

खैबुर पख्तन्ख्वाका स्वास्थ्य सेवा आयोगले अस्पतालका १०० बेड सर्वसाधारणका लागि बन्द गरेकाले घटनामा कोही घाइते भएको हुनसक्ने अनुमान गरिएको थियो।

अलजजिराले मंगलबार बिहान जाबा सहरको बाहिर जंगलमा चार बम खसेको भेटिएको लेखेको छ। बिस्फोटबाट ढलेका रूख र ढुंगाहरू छरपस्ट देखिए। तर तर त्यहाँ भग्नावशेष र जनधनको क्षति भएको देखिने प्रमाण थिएनन्। स्थानीय अस्पतालका अधिकारी र स्थानीयवासीले पनि त्यहाँ थप घाइते नभेटेको बताए।

स्थानीयवासीले बम खसेको ठाउँभन्दा एक किलोमिटर पर जैस-ए-मोहम्मदले चलाएको मदरसा रहेको जानकारी दिए।

बेलायती समाचार संस्था रोयटर्सले बम पड्केर एक जनामात्र घाइते भएको लेखेको छ।

रोयटर्सका संवाददातालाई पनि बम जंगलमा खसेको र रूखहरू ढलेको उल्लेख गरेका छन्।

घटनास्थलमा पुगेर आएका स्थानीय अब्दुर रसिदले भने-सबैतिर बेस्सरी हल्लिएको थियो। तर यहाँ कोही मानिस मरेन। केही देवदारका रूख ढलेका छन्। एक काग मरेको देखियो।

रोयटर्सले १५ भन्दा बढी स्थानीयसँग कुरा गर्दा सबैले एकजनामात्र घाइते भएको बताए।

घटनास्थल नजिकैको अस्पतालमा मोहम्मद सादिक त्यो रात नाइट ड्युटीमा थिए। उनले पनि त्यहाँ कोही घाइते भएको कुरालाई इन्कार गरे।

‘यो सबै झुठो हो किनकी यहाँ कुनै घाइते आएको छैन,’ उनले भने।

केही स्थानीयले त्यहाँको मदरसामा जैस-ए-मोहम्मदको तालिम नहुने पनि दाबी गरेका छन्। मदरसाको बोर्ड बिहीबार हटाइएको छ। र पाकिस्तानी सेनाले संवाददाताहरूलाई त्यहाँभित्र जान नदिएको रोयटर्सले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्