Logo

९ वर्षपछि पहिलोपटक क्वार्टरफाइनलबाटै ‘आउट’ भए रोनाल्डो, यसरी पोखे आफ्नो पीडा ! (फोटोफिचर)

युरोपियन च्याम्पियन्स लिगको उपाधि दाबेदार मानिएको इटालियन क्लब युभेन्टसको यात्रा क्वार्टरफाइनलमा रोकियो । मंगलबार राति आफ्नै मैदानमा भएको उक्त खेलमा युभेन्टस डच क्लब आयाक्ससँग २–१ गोलान्तरले पराजित हुँदै सेमिफाइनल पुग्न असफल भयो ।

उक्त खेल पनि पोर्चुगिज स्टार खेलाडी पीडामा देखिएका छन् । ९ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल बनेका उनी खेल सकिएपछि भावुक एवं उदास मुद्रामा देखिएका हुन् ।

यसअघि सन् २००९÷१० को सिजनमा उनी क्वार्टरफाइनलबाटै आउट भएका थिए । रियल मड्रिडमा अनुबन्ध भएकै सिजन २००९÷१० मा उनको टोली सेमिफाइनल पुग्न असफल भएको थियो । तर, त्यसयता रोनाल्डोको टोली कम्तीमा पनि च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्दै आएको थियो ।

यसपाली भने नयाँ टोलीबाट उपाधि जित्ने उनको योजनामा पूर्णविराम नै लाग्यो । यसै सिजन इटालियन क्लब युभेन्टसमा आवद्ध भएका उनको लगातार चौथो तथा समग्रमा छैटौंपटक च्याम्पियन्स लिगको उपाधि जित्ने सपना भताभुङ्ग नै भयो ।

गए रातिको खेलमा आफ्नै मैदानमा रोनाल्डोले सुरुआती अग्रता बनाएपनि त्यो अग्रता कायम गर्न नसक्दा उनको टोली क्वार्टरफाइनलमै रोकिएको हो ।

उनलाई आयाक्सका युवा खेलाडीहरूले निराश तुल्याए । घरेलु दर्शकको समर्थनमा मैदान उत्रिएको युभेन्टसका लागि खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । तर, युवा खेलाडीले भरिपूर्ण आयाक्सका लागि ३४ औं मिनेटमा डानी भान डेलेले र ६७ औं मिनेटमा लिग्टले गोल गर्दै आयाक्सलाई सेमिफाइनल पुर्याए ।

उक्त खेलमा युभेन्टस बलियो अवस्थामा थियो । पहिलो लेगको खेलमा युभेले आयाक्सको घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दा एक महत्त्वपूर्ण अवे गोल निकालेको थियो । त्यहाँ पनि रोनाल्डोले नै आकर्षक हेडिङ गोल लगाएका थिए ।

यस्तै त्यसअघि रोनाल्डोकै ह्याट्रिकको सहायताले युभेन्टसले आफूलाई अन्तिम आठमा उभ्याएको थियो । यदि युभेन्टसबाट पनि च्याम्पियन्स लिग जित्न सकेमा तीनवटा क्लबबाट च्याम्पियन्स लिग जित्ने खेलाडीको रूपमा उनी चिनिन्थे । तर, गए रातिको खेलबाट त्यो मौका पनि रोनाल्डोले गुमाएका छन् ।

यस सिजन रोनाल्डोले सबै प्रतियोगिता गरेर यस सिजन २६ गोल गरेका छन् । इटालियन लिग सिरी ‘ए’मा रोनाल्डोले १९ गोल गरेका छन् भने जारी लिगको च्याम्पियन्स लिगमा रोनाल्डोले ६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्