Logo

श्वेता खड्का – “भूकम्पले म जस्तै देशलाई पनि विधवा बनायो” !

नायिका श्वेता खड्का यतिबेला युरोपमा छिन् । निर्देशक एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित चलचित्र ‘हेलो जिन्दगी’ खेल्न श्वेता बेलायतको लन्डनमा छिन् । यही बेला श्वेताले चार वर्षअघि गएको विनाशकारी भूकम्पबारे स्मरण गरेकी छन् । भूकम्प गएका बेला श्वेता अमेरिकामा उपचार गर्दै थिइन् । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि मानसिक रूपमा विक्षिप्त र स्वास्थ्य अवस्था बिग्रेपछि उनी अमेरिकामा उपचार गराउँदै थिइन् ।

यही बेला नेपाल भने भूकम्पनले थिलथिलो बनेको थियो । नौ हजारले ज्यान गुमाएका थिए भने १८ हजार घाइते बनेका थिए । नौ लाख घर क्षति भएको थियो । खर्बौको सम्पत्ति नष्ट बनेको थियो । यस्तो अवस्थाका बीचमा नेपाल आएपछि श्वेताले सिन्धुपाल्चोकको माझी बस्तीमा नमुना घर बनाउने अठोट लिइन् । श्वेता श्री फाउन्डेसन स्थापना गरी उनले ५३ वटा घर बनाइसकेकी छन् । अहिले त्यो अन्तिम चरणमा छ । केही दिनमै हस्तान्तरण हुँदैछ ।

यसैक्रममा श्वेताले श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि आफूले कस्तो दुःख र पीडा भोग्नु प-यो ? कसरी भूकम्पले देशलाई बर्बाद बनायो ? र, कसरी आफूले माझी बस्ती बसाउन अथक प्रयास गरें ? भन्ने विषयमा लामो स्टाटस फेसबुकमा लेखेकी छन् ।

श्वेता खड्काको शब्दमा भूकम्पको स्मरण

२०७२ वैशाख १२ गते, जतिखेर विनाशकारी भूकम्पको पीडामा देश थलिएको थियो, म पनि दैवको बज्रपाती पीडाबाट गुज्रिरहेको थिएँ । मानसिक चिन्ता र शारीरिक पीडाबाट थलिएको म । उपचारका लागी अमेरिकामा थिएँ ।

यता देश दुखेको थियो, उता म दुखेको थिएँ । २०७१ श्रावण २५ गते साँझ ५ बजे, मेरो जिन्दगीमा गएको प्रलयकारी भुकम्पले मेरो मुटुलाई चिराचिरा पारेको थियो, मेरो मस्तिस्क शिथिल अनि हातगोडा कमजोर बनाइदिएको थियो । म, ध्वस्त भएको महसुस गरिरहेकी थिएँ ।

मेरो जीवनमाथि घटेको यो प्रलयकारी घटनाको आठ महिना नबित्दै पूरै देशले अर्को विनाशकारी विपदको सामना गर्नुपर्यो । म जस्ता धेरै नारीको सिन्दूरको सिउँदो पुछियो, धेरै आमाबुवा सन्तानविहीन भए अनि लालाबालाहरु टुहुरा । लाखौ परिवारको बस्ने बास उजाडियो । करोडौको अन्नवाली नासियो । धर्ती चिरा पर्यो । पानीका मुहानहरु बिलाए । मठमन्दिर ढले । ऐतिहासिक सम्पदाहरु भात्किए । साँच्चै भन्नुपर्दा, देश कुरुप भयो । एउटी नारीको सिउँदोबाट सिन्दूर, हातबाट चुरा र गलाबाट तिलहरी गुमेर बेरंगी बिधवा बनेझै, देश पनि बिधवा भइन्, म जस्तै ।

त्यो भूकम्पले मेरो पीडाभन्दा मेरो नेपाल आमाको पीडा ठूलो भएको महसुस गरायो । म, आफ्नो पीडा भुलेर आफ्नी जननीको पीडामा मलम दल्नुपर्छ भन्ने सोचबाट अभिप्रेरित भएँ । अस्पतालको बेडबाट उठे । बिदेशी भूमिमै राहत संकलनको कामम जुटे । जति सकिन्छ त्यति सहयोग जुटाएर देश पठाएँ । त्यो मेरो पहिलो कदम थियो ।

जब म देश फिरें । मन भक्कानिएर आयो । बिदेश जाँदा छाडेर गएको मेरो देशको रुप र म फर्कंदा देखेको कुरुप अवस्थाले मनमा काँडा बिझेसरी भयो । सिंगार हराएकी जन्मभूमिको यो हालत देखेर चुप बस्ने मन नै भएन । मैले अठोट गरें, म पनि जन्मभूमिको सुन्दरतालाई फर्काउने केही काम गरेरै छाड्छु ।

मेरो त्यही अठोट को उपज हो, श्वेता श्री फाउन्डेशन अनि माझी बस्ती । माझी बस्ती मेरो सपना हो, कल्पना हो अनि चाहना पनि । भूकम्पले ढलेका ५३ माझी परिवारको घर उठाउने सोचले मात्र म अगाडि बढेकी होइन, म त यो देशकी एउटी चेलीको नाताले आफ्नो दक्ष र गक्षले भ्याएसम्मको योगदान गरेर आफू नेपाली हुनुको एउटा सानो परिचय दिन मात्र खोजेकी हुँ ।

मेरा लागि आफूलाई नेपाली हो भनेर देखाउने यो एउटा सुवर्ण अवसर पनि हो । समस्यालाई अवसरको रुपमा हेर्न सक्यौं भने धेरै काम गर्न सकिन्छ । भुकम्पले समस्या निम्त्याएको पक्कै हो, अब ती समस्यालाई समाधान गर्न सक्ने हातहरुका लागि यो सुवर्ण अवसर पनि हो । अतः स्मैले अहिलेको अवस्थालाई अवसरको रुपमा लिएकी छु । माझी बस्ती बनाउन पाउनु मेरो लागि गर्वको कुरा हो । माझीहरुको दुःखेको मनमा मलम्पट्टी गरेर उनिहरुको ओंठमा मुस्कान फुलाउन खोज्ने मेरो सानो प्रयास सफल होला भन्ने दृढ विश्वास लिएकी छु ।

अन्तमा, भूकम्पले विध्वंश गरेको आजको यो दिनलाई दुःख र पीडाको दिनको रुपमा याद गरेर मात्र हुँदैन । हामीले आगामी दिनमा यस्तो बिपत्तिबाट हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि जागरण दिवसको रुपमा ग्रहण गर्दा उपयुक्त होला । अनि मृतकको नाममा ब्यानर र पोस्टरको अगाडि बसेर मौन धारण गरेर औपचारिकता निभाउनुभन्दा भत्केका, ढलेका र चिराचिरा परेका संरचनाहरुको पुनर्निर्माणमा आफूले सकेको योगदान गर्न सके त्यो नै सत्कर्म सावित होला कि !

प्रतिक्रिया दिनुहोस्