Logo

सिद्धार्थ राजमार्गको पहिरो हटाउन दैनिक ६ घण्टा बाटो बन्द


१९ जेठ, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–३ मा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न आजबाट दैनिक ६ घण्टा सडक बन्द गरिने भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ गाउँपालिका सिद्धबाबा–दोभानमा दैनिकजसो पहिरो जाने गरेको छ । वर्षा नलाग्दै दैनिक पहिरो खसेर बाटो बन्द हुन थालेपछि गाडी चालक र यात्रुहरुले सास्ती पाएका छन् ।

पहिरो हटाएर केहीबेर सडक खुलाए पनि माथिबाट खस्ने क्रम भने रोकिएको छैन । ठूला–ठूला ढुंगासहितको लेदो माटो खसेर यात्रु र सवारी साधनमा लाग्नसक्ने डरले बाटो बन्द गरेर काम थालिएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चिडियाखोलादेखि दोभानसम्मको पाँच किलोमिटर खण्ड ‘मृत्यु मार्ग’का नामले परिचित छ । वर्षायाममा मात्र होइन, हिउँदमा पनि ढुंगे पहिरो खसेर यस सडकखण्डमा थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन् । यो खण्डको ३ किलोमिटर क्षेत्र पहिरोको दृष्टिले अति जोखिमयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्