Logo

बागलुङका युवा तरकारीखेतीतर्फ आकर्षित

बागलुङ । यहाँका तीन युवा मिलेर व्यावसायिक तरकारीखेती शुरु गरेका छन् । जैमिनी नगरपालिका–७ जैदीका तमसम राना, खुमबहादुर राना र सूर्य राना कृषि उद्यमतिर लागेका हुन् ।

वार्षिक रु ८० हजार तिर्नेगरी साढे चार रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरु गरिएको युवा किसान तमसम रानाले बताउनुभयो ।

चारवटा प्लाष्टिक टनेलमा गोलभेँडा, सिमी, बोडी, जुकेनीलगायत तरकारी लगाएको उहाँको भनाइ छ । “तीन महिनाअघि तरकारीखेती शुरु गरेका हौँ”, उहाँले भन्नुयो, “पहिलो चरणको उपज बजारमा पठाउने तयारीमा छौँ ।”

तरकारीखेतीमा हालसम्म रु नौ लाख लगानी भइसकेको रानाले जानकारी दिनुभयो । युवा लक्षित कार्यक्रमअन्तर्गत जिल्ला युवा समितिले रु पाँच लाख अनुदान उपलब्ध गराएको छ ।

“उत्पादनतिर लाग्ने सोच पुरानै हो”, रानाले भन्नुभयो, “अनुदान पनि पाएपछि गर्नैपर्छ भनेर लाग्यौँ ।” अनुदानबाहेकको लगानीमा तीनै युवाको बराबरी सहभागिता छ । बत्तीस वर्षीया राना स्नातकको अध्ययनलाई बीचैमा छोडेर कृषिकर्मतिर लाग्नुभएको हो । यसअघि पनि उहाँले बागलुङ बजारमा व्यावसायिक कुखुरापालन गर्दै आउनुभएको थियो ।

कुखुरापालन व्यवसायमा सफलता नमिलेपछि राना आफ्नो गाउँमै पुगेर व्यावसायिक तरकारीखेतीमा लाग्नुभएको हो । रानाको सोच र योजनालाई अर्का दुई युवा खुमबहादुर र सूर्य रानाले साथ दिनुभएको छ । तीनैजना मेहनती भएका कारण तरकारीखेतीका लागि बाहिरी कामदार राख्नुपर्ने अवस्था छैन । “हामी आफैँ खटेर काम गर्छौं”, खुमबहादुरले भन्नुभयो, “तरकारीखेतीसँगै बङ्गुरपालन र रेष्टुराँ व्यवसाय पनि चलाउने तयारीमा छौँ ।”

जैदीकै बेलबगरमा कालीगण्डकी करिडोरको किनारामा रेष्टुराँ निर्माणको काम अघि बढिसकेको उहाँको भनाइ छ । तरकारीखेती पनि सोही ठाउँमा भएकाले उत्पादनलाई बजार पठाउन सहज हुने भएको छ । राना यसअघि वैदेशिक रोजगारीका लागि मलेसियासमेत पुग्नुभएको थियो ।

“केही समय विदेशमा पनि काम गरियो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै देशमा केही गर्ने लक्ष्यका साथ कृषि कर्ममा लागेका छौँ ।”

मेहनत र इमान्दारिता भए जुनसुकै व्यवसायमा सफल हुन सकिने विश्वास उहाँको छ । युवा कृषि उद्यममा लाग्नु सुखद भएको स्थानीयवासी शंकरप्रसाद पौडेलले बताउनुभयो । ‘भर्खरका युवा कृषिमा लाग्नुभएको छ, उहाँहरुको मेहनत लोभलाग्दो छ”, उहाँले भन्नुभयो, “यसबाट अरु युवालाई पनि प्रेरणा मिलेको छ ।”

प्रतिक्रिया दिनुहोस्