Logo

को थिए विश्वकपका पहिलो ह्याट्रिक गोलकर्ता ?

विश्वकप फुटबलको पहिलो संस्करण सन् १९३० को जुलाई १३ देखि ३० तारिखसम्म उरुग्वेमा आयोजना भएको थियो । विश्वकपको पहिलो संस्करण आफैंमा ऐतिहासिक त हुने नै भयो, सँगसँगै यही विश्वकपमा एक खेलाडीले ह्याट्रिकसमेत गरेका थिए । विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा तीन गोल गर्ने ऐतिहासिक खेलाडी हुन्, अमेरिकाका बेर्ट पेटनाउड ।

उक्त विश्वकपमा अमेरिका समूह ‘चार’मा परेको थियो । जुलाई १७ मा अमेरिकाले पाराग्वेसँग आफ्नो दोस्रो खेल खेलेको थियो । सो खेलमा अमेरिकाले पाराग्वेलाई ३-० गोलले हराएको थियो भने अमेरिकाका लागि तीनवटै गोल पेटनाउडले गरेका थिए । खेल सुरु भएको १५ मिनेटभित्रै उनले टोलीका लागि दुई गोल गरेका थिए । १०औं मिनेटमा पहिलो गोल गरेका पेटनाउटले १५औं मिनेटमा अर्को गोल थपेका थिए ।

यसैगरी खेलको ५०औं मिनेटमा तेस्रो गोल थप्दै उनी विश्वकप फुटबलको इतिहासमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए । उनको दोस्रोे गोल केही विवादित बनेकाले लामो समयसम्म उनले विश्व फुटबल महासंघ (फिफा)बाट विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडीको मान्यता पाएका थिएनन् । तर, सन् २००६ को नोभेम्बर १० मा फिफाले पेटनाउड नै विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी भएको आधिकारिक घोषणा गरेको थियो ।

सन् १९३० को विश्वकपको समूहगत चरणको आफ्नो पहिलो खेलमा बेल्जियमलाई पनि ३-० गोलले हराएको अमेरिका प्रतियोगिताको सेमिफाइनलमा अर्जेन्टिनासँग ६-१ गोलले पराजित भएको थियो । पेटनाउडले बेल्जियमसँगको खेलमा पनि एक गोल गरेका थिए । उक्त विश्वकपको फाइनलमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई ४-२ गोलले हराउँदै उपाधि चुमेको थियो । पेटनाउडको निधन सन् १९७४ को नोभेम्बर ४ मा ६५ वर्षको उमेरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्