Logo

काम नगर्ने ठेकेदारको खोजी सुरु

सम्झौताअवधि गुजारेर काममा प्रगति नभएका योजना जिल्लामा थुप्रै छन् । गैरजिम्मेवार ठेकेदारलाई सरकारले कडाइ गर्ने थाहा पाएपछि सम्झौता गरे पनि निकै कम काम गरेका ठेकेदारबारे उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन थालेका छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा निर्माण सुरु भएर अलपत्र पुल । तस्बिर : प्रतीक्षा काफ्ले

सम्झौता अवधिमा भुक्तानी लिए पनि निर्माणमा प्रगति निकै न्यून भएका ठेकेदारहरूविरुद्ध कारबाही चलाउन जिल्ला प्रशासनले निवेदन माग गरेपछि उपभोक्ता पनि तात्तिएका हुन् । हालसम्म आएका ६ ठेकेदारको नाम गृह मन्त्रालयमा पठाइएको प्रशासनले जनाएको छ ।

योजनाको काम निर्धारित अवधिमा नहुनुका कारणहरू पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रशासनमा आएका नाममा सडक डिभिजन कार्यालयको ज्याग्दीखोला करिडोर योजना पनि छ । उक्त करिडोर निर्माणको सम्झौता सकिए पनि प्रगति २५ प्रतिशतभन्दा बढी छैन । सम्झौताअनुसार २०७४ पुसमा सम्पन्न हुनुपर्ने योजना अझै अधुरो छ । यस्तै सडक डिभिजनकै सिद्धार्थ राजमार्गअन्तर्गत वालिङको कालीमाटी खण्ड मर्मत अर्थात् ढलान योजनाको अवस्था पनि उस्तै छ । ठेक्का लिएको कास्कीको जक्सइन्टाइम कन्स्ट्रक्सनले २०७४ पुसमा सम्पन्न गर्नुपर्ने उक्त योजना अधुरै छ ।

ज्याग्दीखोला करिडोरको निर्माणको ठेक्का अप्सरा कन्स्ट्रक्सन, स्याङ्जाले लिएको थियो । ठेकेदार सुरेन्द्र ढकाललाई बारम्बार फोन गर्दा पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटा बताउँछन् । कालीमाटी खण्डको मर्मत जिम्मा लिएको जक्सइन्टाइम कन्स्ट्रक्सनका ठेकेदार सुरेन्द्र बस्नेत पनि सम्पर्कमा छैनन् । ‘प्रशासनको निर्देशनअनुसार सम्झौता अवधि गुजारेर पनि न्यून प्रगति देखिएका योजनाका ठेकेदार र प्रतिनिधिलाई हामी खोजिरहेका छौं,’ एसपी सापकोटाले भने ।

जिल्ला प्राविधिक कार्यालयद्वारा ठेक्का लगाइएको राङखोला–बिरुवा खण्डको स्तरोन्नतिको काम गत बिहीबारसम्म सक्नुपर्ने थियो । काठमाडौंको ओएसिस इन्जिनियर प्रालिले लिएको यो ठेक्कामा पनि प्रगति न्यून छ । कम्पनी प्रतिनिधि वीरेन्द्र खडकाले म्याद थप गरिएको भन्दै काममा आलटाल गरेको पाइएको प्रहरीले जनाएको छ । यस्तै भुवनघाट सडक पुल निर्माणको ठेक्काअनुसार आगामी असारमा काम सम्पन्न भइसक्नुपर्छ । जिम्मा लिएको पोखराको हिमद्रुनाना ब्रदर्स जेभीले १० प्रतिशत पनि काम गरेको नपाइएको प्रहरीले जनाएको छ । ठेकेदार विष्णु शर्मा पनि प्रहरीको खोजीको सूचीमा छन् ।

फेदीखोला गाउँपालिका र पर्वतको कुश्मा नगरपालिका १४ आर्थर जाने विद्युत् हाइटेन्सन लाइन जडान कार्य गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो । १५ महिनाभित्र काम सक्ने सम्झौता गरेका ठेकेदार राकेश अग्रवालले ३० प्रतिशत पनि काम गरेका छैनन् । यसैगरी काठको फालेर फलामको पोल राख्ने जिम्मा लिएका ठेकेदार कृष्णहरि चौलागाईंले २०७३ मै सम्पन्न गर्ने गरी १५ महिनाको सम्झौता गरेका थिए । उनको पनि कार्यप्रगति शून्य रहेको निमित्त प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ‘हामीले ठेकेदारहरूलाई ताकेता गरेका छौं,’ उनले भने, ‘योजना ठेक्का लिएर कामै नगर्नु अपराध हो ।’

उपभोक्ताबाट पनि निवेदन संकलन गरिएको प्रशासनले लापरबाही गर्ने निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार खोजी गर्न प्रहरीलाई खटाइएको छ । ‘मुद्दा दर्ताभन्दा पनि काम नगर्ने ठेकेदारलाई पक्रिएर थुन्ने आदेश छ,’ एसपी सापकोटाले भने, ‘धेरैजसो योजनाका ठेकेदार फरार भएको अवस्था छ ।’ अवस्थाअनुसार सम्पर्कमा आउने ठेकेदारले काम गर्न नसक्नुको कारण बताउँदा स्थलगत जानकारी संकलनको काम पनि भइरहेको उनले बताए ।

स्याङ्जा बहुमुखी क्याम्पसको भवन गत वर्षकै जेठमा निर्माण सम्पन्न हुनुपर्ने थियो । अझै सम्पन्न भएको छैन । गत वैशाखमा सम्पन्न हुनुपर्ने पुतलीखेत–आरूचौर खण्ड पिच गर्ने योजनामा कामै भएको छैन । रत्नेखोला पुल निर्माणको सम्झौताअनुसारको म्याद सकिएको ३ वर्ष पुगिसक्यो । कामको प्रगति १५ प्रतिशतभन्दा बढी छैन । दामाचौर र चापाकोटको निर्दिममा बन्न लागेका २ मोटरेबल पुलमा कामको प्रगति १० प्रतिशतबाट बढेको छैन । यी योजनामा ठेकेदारले गरेको सम्झौताको मिति ३ वर्ष गुज्रिसकेको छ ।

अर्जुनचौपारी–लुंखु देउराली खण्डको पिच गर्ने ठेक्का लागेको लामो समयसम्म थालिएकै छैन । ‘ठेक्का लगाउने निकायले नियमित अनुगगम गर्नुपर्छ, खुरुखुरु भुक्तानी दिनु हुँदैन,’ अर्जुनचौपारी गाउँपालिकाका लोकराज काफ्लेले भने, ‘योजनामा गुणस्तरका घोटाला जनतालाई थाहा हुने कुरा भएन तर कुन–कुन योजना ठेक्का लागे र काम भएन भन्ने थाहा हुन्छ ।’

कान्तिपुर डेलीबाट 


प्रतिक्रिया दिनुहोस्