Logo

पशुपतिका ४ ढोका शुक्रबार बिहान ३ बजेदेखि नै खोलियो !

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । महाशिवरात्रिका लागि मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ : धतुरोलगायत लागू पदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए ।

दर्शनका लागि पाँच वटा लाइन : यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले राससलाई जानकारी दिए ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

शिवरात्रिका पर्वमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्