Logo

सर्लाहीको सिंगो गाउँमा क्यान्सर प्रकोप : ३० महिनामा २६ जनाको मृत्यु, प्रदूषित पानीले क्यान्सर भएको आशंका !

 

हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन् । हरिवन–५ (साविकको घुर्कौली गाविस) को सिद्धार्थ टोल, धनपति टोल, गोेले टोललगायत गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको हो । अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचारका क्रममा छन् । ‘आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले भने, ‘सिंगो वडामै क्यान्सर प्रकोपको रूपमा फैलिएको छ ।

अन्यलाई पनि क्यान्सर भएको हुन सक्छ । यसबाट पूरै गाउँले आतंकित छन् ।’ दूषित पानीका कारण गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको स्थानीय बुद्धिमान गोलेले बताए । ‘ज्यान गुमाउने र उपचार गराइरहेका अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको छ,’ गोलेले भने, ‘डाक्टरले दूषित पानीका कारण यस्तो क्यान्सर लाग्ने गरेको बताएका छन् ।

’सिद्धार्थ टोलका सिंहबहादुर मोक्तानलाई फोक्सोमा दोस्रो स्टेजको क्यान्सर रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा. सविन अधिकारीले पुष्टि गरे । ‘उहाँसहित सोही टोलका २÷३ जनाको केस मैले हेरेँ,’ उनले भने, ‘त्यो ठाउँमा पिउनेपानीमा समस्या रहेको विषय थाहा भयो । बिरामीको भनाइ र उहाँहरूको अवस्था हेर्दा पानीकै कारण यो संक्रमण भएको अनुमान हामीले गरेका छौँ ।’

१६ जनालाई वडाको सिफारिस
वडा कार्यालयले १६ जना क्यान्सरपीडितलाई उपचारका लागि सिफारिस गरिदिएको छ । त्यसमध्ये केही उपचारका क्रममा रहेका र केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताए । ‘मेरी बहिनीलाई पनि घाँटीको क्यान्सर छ,’ उनले भने, ‘प्रत्येक पाँचमध्ये एक घरमा क्यान्सरपीडित छन् । मेरै छिमेकी दुईजना पनि क्यान्सरको उपचार गराइरहेका छन् ।’

चापाकलको पानी खान बन्द
क्यान्सरले गाउँमा विकराल रूप लिए पनि यसको यकिन कारण भने खुलेको छैन । गाउँका झन्डै चार सय परिवारमा क्यान्सरको त्रास छ । बिरामीका आफन्तलाई डाक्टरले पानीका कारण यस्तो रोग लाग्न सक्ने बताएको स्थानीय मोती योञ्जनले बताइन् । ‘मेरै ससुरा बाको पनि डेढ महिनाअघि क्यान्सरकै कारण मृत्यु भयो,’ उनले भनिन्, ‘६ महिनाअघि सामान्य बिमारी भएपछि अस्पताल पु¥याएका थियौँ । डाक्टरले फोक्सोमा क्यान्सर भएको बताए ।

डाक्टरले पिउनेपानीका कारण क्यान्सर भएको भनेपछि हामीले चापाकलको पानी खान बन्द गरेका छौँ ।’सात वर्षअघिदेखि गाउँका केही चापाकलमा पहेँलो पानी आउन थालेको स्थानीय अमरलाल तामाङ बताउँछन् । ‘अहिले गाउँका कुनै पनि चापाकलको पानी पिउन योग्य छैन,’ तामाङले भने, ‘सबैजसो कलबाट गह्नाउने पहेँलो रंगको धमिलो पानी आउँछ ।

नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने गर्छ । लुगा धुँदा पनि सफा हुँदैन ।’ क्यान्सरको त्रासका कारण केही समययता अधिकांश स्थानीयले चापाकलको पानी पिउनै छाडेका छन् । भाँडामा थापेर राख्दा पानीमा पहेँलो तर लाग्ने गरेको छ ।

प्राविधिकले भनेका थिए, ‘पानी दूषित छ’
०७३ सालमा गाउँमा आर्सेनिक जाँच गर्न प्राविधिक टोली आएको थियो । त्यतिवेला केही चापाकलको पानी जाँचपछि प्राविधिकले पानी पिउनयोग्य नरहेको रिर्पोट दिएको वडाध्यक्ष साहले बताए । उनले भने, ‘प्राविधिकले नमुना परीक्षणपछि चापाकलको पानीमा आर्सेनिक नरहे पनि अन्य विषाक्त तŒव रहेकाले नपिउन भनेका थिए ।

तर, अन्य विकल्प नहुँदा स्थानीयले चापाकलको पानी प्रयोग गर्न छाडेनन् । अहिले यो अवस्था आयो ।’

‘चिनी उद्योगका कारण पानी दूषित’नजिकै रहेको इन्दुशंकर चिनी उद्योगका कारण जमिनमुनिको पानी दूषित बनेको स्थानीयकोे आशंका छ । उद्योगबाट निस्कने केमिकलयुक्त फोहोर पानी गाउँनजिकैको लखन्देही खोलामा त्यसै छाड्ने गरिएको छ । फोहोर पानीका कारण गाउँमा प्रदूषण बढेको भन्दै वर्षौंदेखि स्थानीयले विरोध गर्दै आएका छन् ।

पानी परीक्षणको रिपोर्ट सार्वजनिक गरिएनकेही वर्षअघि उद्योगले गाउँका केही कलको पानीको नमुना परीक्षणका लागि लगेको थियो । तर, त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्थानीयको विरोधपछि उद्योगले गाउँमा ६३ फिट गहिरो ट्युबेल गाडिदिएको छ । त्यही ट्युबेलको पानी तीन÷तीन हजार लिटर क्षमताका चारवटा ट्यांकीमार्फत गाउँमा वितरण हुँदै आएको छ ।

तर, स्थानीय उद्योगले राखेको ट्यांकीको पानीसमेत खानयोग्य छ भन्नेमा विश्वास छैन । गाउँका ७५ प्रतिशत स्थानीयले उद्योगले राखिदिएको ट्यांकीको पानी खाँदैनन् । उनीहरूले जारको पानी किनेर खाने गरेका छन् ।

यी हुन् ज्यान गुमाउने
ज्यान गुमाउनेमा १५ वर्षका बालबालिकादेखि ७५ वर्षका वृद्धवृद्धासमेत छन् । यस अवधिमा नन्दलाल मोक्तान, जितबहादुर थिङ, लालबहादुर योञ्जन, बाबुलाल स्याङ्तान, नरबहादुर योञ्जन, मेघबहादुर मोक्तान, बुद्धिमान स्याङ्तान, शंकर थिङ, सानुमान जिम्बा, सानुमान बल, मीनामाया डोम्जन, रामचन्द्र महतो, लालमाया योञ्जन, धनराज पाख्रिन, वीरबहादुर लामा, डोमबहादुर मोक्तान, राजकुमार डोम्जन, सीताराम मोक्तानलगायतको क्यान्सरकै कारण मृत्यु भयो । उनीहरू सबैको क्यान्सरकै कारण मृत्यु भएको डाक्टरी रिपोर्टसहितका कागजात आफन्तसँग सुरक्षित छन् ।

क्यान्सरपीडित आठजनाको नेपाल र भारतका अस्पतालमा उपचार हुँदैगाउँका आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका वडाध्यक्ष साहले बताए । १४ वर्षीय बालिका उमा साहलाई समेत क्यान्सर भएको छ । उनको नेपाल क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ । त्यसैगरी, ३१ वर्षीय सन्दीप स्याङबोको भारत कोलकत्तामा उपचार भइरहेको छ । स्थानीय रसिक मन्सुर, रामविराज राय, रूपलाल घिसिङ, हर्कबहादुर पाख्रिन र शुक्रमाया स्याङबाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।सोत नयापत्रिका

प्रतिक्रिया दिनुहोस्