Logo

वीरगञ्जका अस्पतालले उपचार गर्न नमानेपछि युवकको मृत्यु…..(भिडियो सहित)

वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि एक युवकको मृत्यु भएको छ। कोरोना संक्रमण अशंकामा वीरगञ्जका निजी तथा सरकारी अस्पतालले उपचार नगर्दा बाराको कलैया नगरपालिका वडा नम्बर-२२ धोधा टोलका २५ वर्षीय विजय कुशवाहाको मृत्यु भएको हो। घरमा काम गरिरहेका बेला मेसिनले खुट्टा काटेपछि विजय वीरगञ्जको नेसनल मेडिकल कलेजमा शनिबार भर्ना भएका थिए। उपचारका क्रममा उनलाई ज्वरो र सुख्खा खोकी लागेको थियो।

भर्ना गरेको भोलिपल्ट खोक्दा मुखबाट रगत आएपछि डाक्टरले एक्सरे गरेका थिए। एक्सरेपछि कोरोनाको आशंका भएको भन्दै विजयलाई अस्पतालबाट डाक्टरले जबरजस्ती बाहिर निकालेको मृतकका बुवा मनोज कुशवाहाले बताए। वीरगञ्जको नेसनल मेडिकलबाट निकालेपछि परिवारले उनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा लगेका थिए। तर उक्त अस्पतालका डाक्टरहरूले आइसियूमा भेन्टिलेटर खाली नभएको भनेपछि उपचारै नगरी उनलाई त्यहाँबाट फर्काइएको थियो।

सरकारी अस्पतालले उपचार गर्न नमानेपछि आफन्तहरूले कुशवाहालाई लिएर वीरगञ्जका सबै निजी अस्पतालमा पुगे। त्यहाँ पनि ‘कोरोनाको बिरामी हो’ भनेर भर्ना गर्न नमानेको आफन्तहरूले बताए। वीरगञ्जका अस्पतालहरूले विजयलाई उपचार गर्न नमानेपछि आफन्तहरूले एम्बुलेन्समार्फत् काठमाडौं लैजाने क्रममा आज बिहान करिब ३ बजे उनको बाटोमै मृत्यु भएको हो। शिक्षण अस्पताल स्रोतका अनुसार ती व्यक्तिको हात खुट्टा मेसिनले काटेको थियो। त्यसले गर्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको हो।

‘हामीले बिरामीको मेडिकल हिस्ट्री हेर्दैछौं। हिस्ट्री हेर्दा पहिलेको दुर्घटनाबाट भएको घाउको संक्रमणले नै मृत्यु भएको देखिन्छ। थप अनुसन्धान भइरहेको छ,’ त्रिवि शिक्षण अस्पताल स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्