Logo

सर्लाहीका कोरोना संक्रमित मानसिक सन्तुलन गुमाएका व्यक्ति

पछिल्लो पटक सर्लाहीमा फेला परेका कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना संक्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

४५ वर्षीय ती पुरुषको एक दशकयता मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनलाइनखबरलाई जानकारी दिए । उनले ती व्यक्ति घर परिवारबाट अलग भएर बाहिर हिँडिरहने व्यक्ति भएको र घर आउँदा पनि छुट्टै घरमा एक्लै बस्ने गरेको पाइएको बताए । ‘उनी बाहिर हिँडिरहने र मागिरहने मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्,’ जिसीले भने ।

जनकपुरधाम पुग्दा उनलाई त्यहीँ क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा पोजेटिभ पाइएको उनले बताए । उनलाई अहिले पनि जनकपुरधाममै राखिएको र त्यहीँ आइसोलेसनमा लग्ने तयारी भइरहेको बताए ।सर्लाहीमा यसअघि एक जना १४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखापरेको थियो । संक्रमित भएका ती बालकको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्