Logo

मेस्सीले छोड्दै छन् बार्सिनोला कुन क्लब ले लैजाला त ?

मंगलबार राति एउटा सनसनी समाचारले फुटबल जगतलाई हल्लाइदियो । स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेस्सीले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि विश्वभर रहेका उनका समर्थक स्तब्ध बने ।

बार्सिलोनाका पर्यायका रुपमा हेरिन्छन् मेस्सी । मेस्सी बिनाको बार्सिलोनाको कल्पना पनि गर्न सक्दैनन् फ्यानहरु । अहिले उनीहरुबीच विभिन्न प्रश्नोत्तर र अड्कलवाजीहरु भइरहेका छन् । किन छाड्न लागे मेस्सीले बार्सिलोना ? अब कुन क्लबमा जान्छन् ? के बार्सिलोनाले मेसीलाई रिलिज गर्ला ? कुन–कुन क्लब छन् मेसीलाई नजर लगाउने ? मेस्सीलाई ७०० मिलयन युरो तिर्न सक्ने क्लब कुन होला ? यस्तै यस्तै ।

यी प्रश्नहरु स्वभाविक पनि छन् । दुई दशकदेखि एउटै क्लबमा खेलिरहेका छन् मेस्सी । २००४ देखि बार्सिलोनाको सिनियर टिममा खेलेका मेस्सीका नाममा अनेकन किर्तिमान छन् । आफ्नो टिमलाई कुनै पनि उपाधि जिताउन छुटाएका छैनन् उनले । ला लिगाका सर्वाधिक गोलकर्ता, सर्वाधिक बालोन डेर अवार्ड जित्ने खेलाडी, च्याम्पियन्स लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी आदि आदी ।

यसरी जुन क्लवमा खेलेर सफलताको शिखर चुमे त्यही क्लवलाई किन बाईबाई गर्न चाहन्छन् त मेस्सी ? अहिले सबैको मनमा उब्जेको प्रमुख कौतुहलता यही नै हो ।

पछिल्लो समय खेलाडी र प्रशिक्षकबीच बढेको दूरी, खेलाडी र क्लब व्यवस्थापनबीचको तिक्तता, खेलाडी किनबेच लगायत विभिन्न विषयहरुमा क्लबमा बढेको असमझदारीका कारण बार्सिलोनाका खेलाडीहरु खुशी हुन सकेका छैनन् । अझ पछिल्लो समय ला लिगाको उपाधि रक्षा गर्न असफल हुनु र च्याम्पियन्स लिगमा बायर्नसँग ८–२ को लज्जासपद हारसहित बाहिरिनुले मेस्सीमा पनि दबाब बढेको छ ।

हुन त मेस्सीले फेब्रुअरीमै क्लबको खेल्ने शैलीको आलोचना गरेका थिए । यस्तै पाराले खेल्ने हो भने केही नजितिने उनले ठोकुवा गरेका थिए । अन्ततः मेसीले भनेजस्तै सिजन सकिँदा बार्सिलोनाले केही जितेन । १२ वर्षपछि बार्सिलोना उपाधिविहिन बन्यो ।

केही दिनअघि मात्र बार्सिलोनाले किके सेटिएनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी रोनाल्ड कोएमनलाई २ वर्षको लागि अनुबन्ध गरेको छ । उनीसँग मिटिङ गर्न मेस्सीले आफ्नो छुट्टी छोट्याएर क्यानलाना पुगेका थिए ।

कोएमनले मेस्सीको सेरोफेरोमा युवा खेलाडीहरु सहितको नयाँ योजना बनाउन चाहेका थिए । तर कोएमनसंगको भेटमा मेस्सीले आफू क्लबभित्र भन्दा बाहिर भएको फिल गर्न थालेको बताए । मेस्सी कोएमनबाट सन्तुष्ट हुन सकेनन् ।

यी सबै कारणले गर्दा मेसीलाई बोल्ड निर्णय लिन बाध्य बनाएको बताइन्छ । मेस्सीले क्लबका अध्यक्षलाई आफूले क्लब छाड्ने मनसाय बनाएको भन्दै फ्याक्स पठाएका छन् । यसले बार्सिलोना क्लबदेखि विश्व फुटबललाई नै आश्चर्यमा पार्‍यो ।

मेस्सी १३ वर्षको उमेरमै बार्सिलोना पुगेका थिए । जहाँ उनले युथ करियर सुरु गरे । बार्सिलोना सी, बार्सिलोना बी हुँदै सन् २००४ मा बार्सिलोनाको सिनियर टिममै डेब्यु गरे । मेस्सीले बार्सिलोनामा जितेका ट्रफीको कुनै लेखाजोखा छैन । तर खेलाडीले आजीवन एउटै क्लवबाट खेल्नुपर्छ भन्ने हुँदैन । कुनै न कुनै बेला क्लब छाड्नु नै पर्ने हुन्छ । मेस्सीले अहिले नै सही समय देखे ।

हुन त उनको सम्झौता अझै १ वर्ष बाँकी छ । उनको रिलिज क्लब पनि ७०० मिलियन छ । मेस्सीले पत्रमा आफ्नो रिलिज क्लब तोड्दै ट्रान्सफरका लागि खुल्ला गरिदिन भनेका छन् । तर त्यसको समय जुन १० सम्म मात्र रहेकोले अब मेस्सीले त्यो छुट नपाउने पनि अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अबको एउटा प्रश्न छ, के उनले यही समरमा जसरी पनि क्लब छाड्लान् ? यदि मेस्सीले बार्सिलोना छाडे भने कुन क्लबमा जालान् ? उनको पूर्व प्रशिक्षक पेप ग्वार्डिओला रहेको म्यानचेष्टर सिटी उनलाई ताकिरहेको छ । यस्तै पछिल्लो समय इन्टर मिलानले पनि मेस्सीलाई अनुबन्ध गर्न चाहेको समाचार बारम्बार आइरहेको छ । इंग्लयाण्डकै म्यानचेष्टर युनाइटेड समेत मेसीलाई अनुबन्ध गर्ने रेसमा अघि देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पनि मेस्सीको नाम जोडिएको छ । पीएसजी त्यही क्लब हो जसले सन् २०१७ मा ब्राजिलियन स्टार नेइमारलाई बार्सिलोनाबाटै कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो ।

गोल डट कमले पीएसजीका लागि किन मेस्सी खराब अनुबन्ध हुन्छ ? शीर्षकमा एउटा सामग्री तयार पारेको छ । यो अचम्म सुनिन सक्छ तर विश्वकै उत्कृष्टमध्ये एक खेलाडीलाई अनुबन्ध गर्नु पीएसजीका लागि खराब हुन सक्ने तर्क त्यसमा गरिएको छ ।

सन् २०११ मा कतारी व्यापारीले पेरिसको क्लब किनेयता नै मेस्सी वा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने पीएसजीको सपना थियो । अन्तत २०१७ मा पीएसजीले नेमारलाई कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा अनुबन्ध गर्न सफल भयो । पीएसजी त्यतिमै रोकिएन र फ्रेन्च युवा स्टार किलियन एमबाप्पेलाई पनि महँगो रकममा अनुबन्ध गर्‍यो ।

अहिले पीएसजीले मेस्सीलाई पनि ताकिरहेको छ । तर विश्वकै उत्कृष्ट खेलाडी अनुबन्ध गर्नुभन्दा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखबाट प्रेरणा लिनु ठिक हुनेछ । ९० को दशकमा सुपरस्टार खेलाडीहरु जम्मा पार्दा बायर्नलाई एफसी हलिउडको उपनाम दिइएको थियो । बुण्डेसलिगा क्लब बायर्नले पछिल्लो समय युवा खेलाडीहरुमा लगानी गरिरहेको छ । त्यसैको फल अहिले प्राप्त गरेको छ । बायर्नले यस सिजन ५५ गोल गरेका रोवर्ट लेवान्डोस्कीलाई २०१४ मा फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो । यस्तै २०१८ मा लियोन गोरेट्ज्कालाई पनि त्यसैगरी ल्याएको थियो ।

सर्जी नाब्री, जेरोमी बोएटेङ, मानुएल नोए सबैको खर्च २५ मिलियनभन्दा कम थियो । १९ मिलियन युरोमा अनुबन्ध भएका क्यानेडियन युवा खेलाडी अल्फोन्सो डेभिजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यी स्मार्ट अनुबन्धहरुलाई पूर्ण बनाउन एकेडेमी खेलाडीहरू डेभिड अलाबा र थोमस मुलर छन् । यस्तै जोसुअ जिर्के क्लबको लागि दिर्घकालिन भविष्य हुने आशा छ ।

आर्थिक बलले सफलता रातारात हात पर्दैन, बुद्धिमानीपूर्वक काम गर्नुपर्दछ भन्ने बायर्नले बुझेको छ । यसको विपरीत पीएसजी आफ्नो सफलताका लागि ब्लकबस्टर ट्यालेन्टमा निर्भर छ । पीएसजीको सुपरस्टार एघार पनि त्यति राम्रो हुन सकेको छैन । यदि पीएसजी मेस्सीको लागि अघि बढ्दैछ भने, यसले बेन्चलाई कमजोर पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्