Logo

वामदेव गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर पार्टीको नाम एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गर्न लागेका हुन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।

‘हाम्रो राष्ट्रिय भेला शनिबार भएको थियो । त्यसले पार्टी गठन गर्ने निर्णय गरेको हो । शनिबारको राष्ट्रिय भेलाले निर्माण गरेको नेकपा (एकता राष्ट्रिय अभियान)केन्द्रिय कमिटीको पहिलो बैठक आइतबार बस्यो । त्यसको केही महत्त्वपूर्ण निर्णय गरेको छ । त्यसलाई आज सार्वजनिक गर्न छौं,’ प्रचार संयोजक निमकान्त पाण्डेले भने । ६९ सदस्यीय केन्द्रिय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको पाण्डेले बताएका छन्। ‘हामी निर्वाचन आयोगमा दर्ता पनि गर्छौ र चुनाव प्रक्रियामा पनि अघि जान सक्छौं,’ पाण्डेले भने,’अहिलेसम्म ५ वटा पार्टी समाहित भइसकेका छन् ।’

पाण्डेका अनुसार निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह छन् ।

प्रतिक्रिया दिनुहोस्