Logo

३९ अर्बको मोबाइल आयात

काठमाडौं : नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ) मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ३८ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । यसमध्ये ८ लाख २७ हजार वटा महँगा स्मार्ट फोन हुन् ।

११ महिनामा ५६ लाख ३७ हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ६ अर्ब १७ करोड राजस्व पनि उठाएको छ ।

गत आर्थिक वर्षको यस्तै अवधिमा ३४ अर्ब १४ करोड मूल्यका ६५ लाख ५४ हजार थान सेट आयात भएको थियो । त्यसबाट सरकारले ५ अर्ब ४० करोड राजस्व उठाएको थियो ।

तर, यस वर्षको समीक्षा अवधिमा मोबाइल सेटको संख्या ९ लाखले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब साढे ५ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ ।

गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । महँगा फोनको आयात बढ्दा समग्र संख्या घट्दा समेत फोन किनेबापत बाहिरिने विदेशी मुद्राको दर बढेको छ ।

नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ ।

कोभिड–१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको छ ।

नेपाल मोबाइल व्यवसायी संघ अध्यक्ष पुरुषोत्तम बस्नेतकाका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियोरभिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ।

विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्डरपावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् ।

ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढ्दो छ । ह्यांग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटोरभिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ ।

२० हजारदेखि ४० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् । नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ।

प्रतिक्रिया दिनुहोस्