Logo

सुतेको बेला घुर्ने समस्या छ ? यसरी समाधान गर्नुहोस्

निदाउँदा घुर्ने समस्या उमेरले तिन दशक पार गरेका, मोटो शरीर भएका व्यक्तिहरूमा हुने सामान्य समस्या नै हो । यो समस्या धेरै व्यक्तिलाई हुने हुँदा सामान्य लागे पनि साथै सुतेका व्यक्तिका लागि भने निकै कष्टकर समस्या हुने गर्छ ।

निदाउँदा घुर्ने समस्या भएका व्यक्तिहरूले यो समस्याबाट आफूलाई छुटकारा दिलाउन धेरै किसिमको प्रयास गरे पनि वास्तविक रूपमा भने उनीहरूको समस्या समाधान भइरहेको हुँदैन ।

सुत्दा श्वास नलीमा रोकावट हुँदा निदाएको व्यक्तिले घुर्ने गर्छन् । यो समस्यालाई वास्तवमा भन्ने हो भने गम्भीर किसिमको समस्या हो । सुत्दा घुर्ने समस्या भने पनि यसले साथै सुत्ने व्यक्तिलाई धेरै नै समस्या पारिरहेको हुन्छ । कतिपय अवस्थामा श्रीमान्–श्रीमती बिच घुर्ने समस्याकै कारण पारपाचुके समेत भएका समाचारहरू आउने समेत गरेका छन् ।

घुर्नुको मुख्य कारण यस्तो छ
जब हामी निदाउनका लागि सुत्छौ । त्यो बेला श्वास प्रश्वास गर्दा हाम्रो गर्धन र टाउकोको नरम भागमा कम्पन हुने गर्छ । उक्त अङ्गको कम्पनको आवाज नै घुरेको आवाज हो । यो नरम भाग हाम्रो मुखको माथिल्लो भाग, नाक र टन्सिलको क्षेत्रमा हुन्छ ।

जब हामी निदाउने क्रममा हामीले श्वास नली हुदैं श्वास लिन्छौँ उक्त हावा जाने बाटोमा उक्त नरम भाग रहेको हुन्छ । त्यो नरम भाग पनि निदाउँदा आरामको अवस्थामा हुन्छ । यस्तो अवस्थामा निदाएको व्यक्तिले श्वास लिनका लागि बल लगाउनु पर्ने भइरहेको हुन्छ । जसको कारण नरम भागमा कम्पन पैदा भएर आवाज आउने गर्छ ।

घुर्ने समस्यालाई कसरी रोक्ने
घुर्ने समस्यालाई रोक्ने भनेकै सुतेको बेला लिइने श्वास प्रश्वासलाई सहज रूपमा भित्र बाहिर आउन र जान दिने नै हो । यसको लागि केही उपाय पनि रहेका छन् । उक्त उपायलाई अपनाएरै रोक्न पनि सकिन्छ ।

नाकको सफाइ
रुघा लाग्ने, नाकमा सिँगान जम्ने र नाक बन्द भइरहने समस्या छ भने पनि त्यस्ता व्यक्तिमा घुर्ने समस्या देखिन्छ । यस्तो किसिमको समस्या छ भने सुत्नु भन्दा अगाडी नाकको राम्ररी सफाइ गरेर सुत्दा घुर्ने समस्या कम हुनसक्छ ।

मदिरा नपिउने
मदिरा पिएर सुत्ने वा सुत्नु भन्दा अगाडी मदिरा पिउँदा यसले मांसपेशीहरूलाई नपिउँदाको अवस्थामा भन्दा बढी आराम अवस्थामा ल्याउने गर्छ । मदिरा पिएर सुत्दा श्वास प्रश्वास गर्ने नली साँघुरो भइदिन्छन् । जसको कारण घुर्ने समस्या हुन्छ । त्यसैले घुर्ने समस्या भएका व्यक्तिले सुत्नु भन्दा अगाडी मदिराको सेवन गर्नु हुँदैन।

शरीरको तौल कम गर्ने
शरीर मोटो भएका व्यक्तिहरूमा घुर्ने समस्या बढी देखिन्छ । मोटो व्यक्तिको चिउँडोको भागमा बोसोको मात्रा बढी हुन्छ । मोटो व्यक्तिले सुत्दा श्वास प्रश्वास गर्दा नली साँघुरो भइरहेको हुन्छ । जसको कारण घुर्ने समस्या देखिन्छ । त्यसैले घुर्ने समस्या भएका व्यक्तिले आफ्नो तौललाई घटाउनु पर्ने हुन्छ ।

कोल्टे परेर सुत्ने
ढाडको बलमा उत्तानो परेर सुत्दा घुर्ने समस्या बढी देखिने गर्छ । उत्तानो परेर सुत्दा जिब्रो र चिउँडोको तल्लो भागमा रहेको बोसोको मात्राले श्वास प्रश्वासमा अवरोध गरिरहेको हुन्छ । यदि कोल्टे परेर सुत्ने हो भने घुर्ने समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्