Logo

याक तथा चौंरी व्यवसायी संघ र इन्स्योरेन्स कम्पनी बीच सम्झौता, अब सोलुभरी नै बिमा विस्तार गरिने

काठमाडौँ  : याक, नाक तथा चौरीको बीमामा नेपाल सरकारको अनुदान बाहेक बीमीतले बुझाउने बीमा शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्न याक तथा चौंरी व्यवसायी संघ र आईएमई जनरल इन्स्योरेन्स कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार याक तथा चौंरी व्यवसायी संघका अध्यक्ष नुरु शेर्पा र आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सोलुखुम्बुका प्रबन्धक खगेन्द्र बनले द्धिपक्षिय हस्ताक्षर गरिएको हो ।

सम्झौतामा १५ प्रतिशत छुट सँगै जिल्ला भरको याक, नाक तथा चौरीहरूमा हुने जोखिम न्युनिकरण गर्न र पशुधनीलाई हुने नोक्सानी कम गर्न बीमाको दायरा बढाउने र सबै व्यवसायीहरूले पालन गरिरहेको पशुहरूको बीमा गर्ने र सो बीमा पश्चात पर्न आएको दावीहरूको प्राथमिकताका साथ अगाडी बढाउने, पशुधन विमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न दुवै पक्षले कार्यक्रम गर्ने, बीमा दाबीको आवश्यक कागजात संघको प्रतिनिधि मार्फत पनि उपलब्ध गराई प्रक्रिया चलाउन सक्ने लगायत विषय सम्झौता पत्रमा उल्लेख छ ।

यो सम्झौता भएसँगै अब कृषकले आफ्नो वीमा दावीको लागि कागजात बोकेर सल्लेरी धाउनु पर्ने झन्झटको अन्त्य भएको छ । यो सम्झौताले पशुबीमाको दायरा बढाउनुका साथै बीमितले पाउने क्षतिपुर्तीको प्रक्रिया थप सरलिकृत भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक खगेन्द्र बनले बताए ।

याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष नुरु शेर्पाले हिमाली क्षेत्रको चौरीको संख्या घट्नुको एक कारण पशुधन क्षति पनि एक कारण भएको बताउदै सम्झौता मार्फत कृषकलाई प्रोत्साहन मिल्ने र याक तथा चौरी संरक्षणमा टेवा पुग्ने बताए । हाल पशुधन बीमामा लाग्ने प्रिमियममा नेपाल सरकारले ८०५ अनुदान दिँदै आइरहेको छ ।

सरकारले यति ठूलो सहयोग गरेतापनि दुरदराजका चौरी कृषकहरु बीमाको दायरामा सोचे जस्तो आउन नसकेको भन्दै आगामी दिनमा आफ्नो पशुधन क्षतिको न्यूनीकरणका लागि बीमा अनिवार्य गर्न सम्पूर्ण याक तथा चौरी कृषकहरुलाई याक तथा चौरी कृषक महासंघ नेपालका तदर्थ समितिको अध्यक्ष समेत रहेका नुरु शेर्पाले अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्