Logo

राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताए। बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताएका छन् ।

उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै कामहरु समयमै सक्नुपर्ने बताएका छन् ।

उनले राष्ट्रिय गौरव भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताएका छन्। उनले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेको योजनालाई बनाउने कुरा हुनु नहुने बताएका छन् ।

उनले भने, ‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनैपनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ । मेलम्ची आयोजना पहिल्यै सकिनुपथ्र्यो । यो नसकिँदा आजसम्म हामीले पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको छ । त्यसकारण आयोजना समयमै सक्नुपर्छ । तामाकोशी जलविद्युत आयोजना ढिलो हुँदा लागत बढ्दै गएको छ, राज्यले पाउने चिज गुमाउँदै गएको छ । त्यसकारण समयमै काम सक्नुपर्छ ।’

उनले थपे, ‘हामीले योजना गर्दा शुरु र अन्त्य कहिलेसम्म भन्दा व्यवहारिक गरेनौँ कि ? यदि व्यवहारिक नगरे व्यवहारिक गर्नुपर्छ । पहिलो कुरा त राष्ट्रिय गौरवका आयोजना भनेर भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा र निश्चित अर्थ, महत्व हुनुपर्छ । प्रधानमन्त्रीलाई कहिले मन लाग्यो, यो राष्ट्रिय आयोजनामा राखौँ, अर्थ मन्त्रीलाई मन लागे यो राष्ट्रिय आयोजनामा राखौँ, अरु मन्त्री, सरकारमा पहुँच हुने नेताले भनेर राख्ने भन्ने हुनुहुँदैन । त्यसकारण त्यसको निश्चित परिभाषाका साथ राष्ट्रिय गौरव भन्न लायक योजनालाई मात्रै राखौँ नत्र छैन भने हटाऔँ । समयमै काम सम्पन्न नभएका योजनाका बारेमा समितिले निगरानी राख्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले समयमै योजनाहरुको काम सकिएको छ वा छैन भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्