Logo

वडाध्यक्ष आफै सूचक बसेर मुसहर बालबालिकालाई जन्मदर्ता दिलाए

सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा वडाध्यक्ष आफै सूचक बसेर ६ जना मुसहर बालबालिकाको जन्मदर्ता बनाइदिएका छन् ।

बुवाआमाको नागरिकता नभएर ८/९ वर्षसम्म पनि जन्मदर्ताविहीन रहेका ६ जना मुसहर बालबालिकाको वडाध्यक्ष राजकिशोर महतो सूचक बसेर जन्मदर्ता दिलाएका हुन् । टाँडीका लिला माझीले छोरी रोशनीकुमारी माझीको ९ वर्ष र छोरा सागर माझीको ८ वर्षको उमेरमा जन्मदर्ता बनेको बताईन् ।

जन्मसिद्धका कारण आफूहरुले नागरिकता बनाउन नपाएपछि वडाध्यक्ष सूचक बसेर छोराछोरीलाई जन्मदर्ता बनाइदिँदा उनी खुसी छिन् । स्थानीय पञ्जिकाधिकारी अर्थात् वडा सचिव पार्वतीकुमारी गिरीले २०७० पुस १० गते जन्मिएका लिलाका छोरी रोशनीकुमारी र २०७१ माघ १७ गते जन्मिएका सागर माझीको जन्मदर्ता जारी गरिदिएकी हुन् ।

टाँडीकै रीनाकुमारी माझीका छोरी सोना माझीले पनि पाँच वर्षको उमेरमा जन्मदर्ता पाएकी छिन् । छोरीले ढिलै भए पनि जन्मदर्ता पाएको र अब विद्यालय भर्ना गरेर पढाउने रीनाकुमारीले बताईन् ।

प्रचलित कानूनमा आमा बुवाको नागरिकता नभए पनि वडाध्यक्ष सूचक बसेर बालबालिकाको जन्मदर्ता बनाइदिन सक्ने व्यवस्था छ । कानून बमोजिम वडा कार्यालयबाट पहिलो पटक वडाध्यक्ष सूचक बसी जन्मदर्ता बनाउने काम गरिएको वडा सचिव गिरीले उज्यालो अभियानसँग बताईन् ।

परिवारमा कसैको नागरिकता नभएका छ जना बालबालिकाको वडाध्यक्ष र दुई जना बालबालिकाको नागरिकता भएका आफ्नै हजुरबुवा सूचक बसेर जन्मदर्ता दिलाएका वडा सचिव गिरीले सुनाईन् । तराई मधेसमा अत्यन्तै पिछडिएको र ज्याला मजदुरी गरेर जीवन धान्ने दलित मुसहर समुदायका धेरैको नागरिकता छैन् भने अभिभावकको नागरिकता नभएकै कारण उनीहरुका बालबच्चाले जन्मदर्ता पाएका छैनन् ।

आमाबुवाको पहिचान भएपछि वडाध्यक्ष सूचक बसेर बालबालिकालाई जन्मदर्ता दिलाउन सक्ने भए पनि यसतर्फ जनप्रतिनिधिले चासो देखाएका छैनन् । मुसहर समुदायको उत्थानका लागि अन्डेफको सहयोगमा काम गरिरहेको साप नेपाल नामक संस्थाले पहल गरेर बरहथवाको टाँडीसहित चन्द्रनगर गाउँपालिका, हरिपुर नगरपालिका र बसबरिया गाउँपालिकाका विभिन्न मुसहर बस्तीका बालबालिकालाई जन्मदर्ता दिलाउन अभियान नै चलाएको छ ।

साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले धेरै मुसहर बालबालिकाको जन्मदर्ता नभएकै कारण विद्यालयहरुले भर्ना नलिने गरेको पाइएको बताए । जन्मसिद्ध नागरिकताको विवाद किनारा नलाग्दा तराईमा भूमिपुत्र भनेर चिनिने धेरै मुसहर नागरिकताविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्