Logo

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ ।

प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल सङ्घले आह्वान गरेको छ ।

त्यस्तै भलिबल सङ्घमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित सङ्घको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई सङ्घले कुनै पनि मान्यता नदिने निर्णय गरिएको सङ्घका महासचिव कुमार किसानले जानकारी दिनुभएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ । समितिको संयोजकमा सङ्घका उपाध्यक्ष खड्क केसी र सदस्यमा सङ्घका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहनुभएको छ ।

जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका सङ्घले जनाएको छ ।

जिल्लामा विभिन्न सङ्घसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा सङ्घको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ ।

साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको सङ्घका महासचिव किसानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्