Logo

बागमती प्रदेशका कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

काठमाडौ । बागमती प्रदेशको सबै निर्वाचन केन्द्रहरूमा मतदान सम्पन्न भएको छ । प्रदेशका केही जिल्लाबाहेक अधिकांश जिल्लाका केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

उनका अनुसार चितवन, दोलखा लगायतका जिल्लामा छिट्फुट रूपमा केही घटना भए पनि मतदान नै रोकिने अवस्था निम्तिएन । कुल ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेको यस प्रदेशमा प्रतिशतका आधारमा सबैभन्दा बढी मत रसुवामा खसेको छ । रसुवामा ७४ प्रतिशत मत खसेको पोखरेलले बताए । प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको रसुवामा ३९ हजार ४५९ मतदाता छन् ।

प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको दोलखामा ५० प्रतिशत मत खसेको उनले जानकारी दिए । दोलखामा एक लाख ६१ हजार ४५० मतदाता छन् । रामेछापमा पनि ५० प्रतिशत मत खसेको उनले बताए । प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको रामेछापमा एक लाख ८० हजार १०६ मतदाता छन् ।

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २ लाख ८ हजार ३६९ मतदाता रहेकोमा सिन्धुलीमा ५३ प्रतिशत मत खसेको जनाइएको छ । धादिङमा ५० प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको धादिङमा २ लाख ६५ हजार ९९६ मतदाता छन् ।

पोखरेलका अनुसार नुवाकोटमा ५३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुई लाख ३९ हजार ७२६ मतदाता छन् । यस्तै, प्रतिनिधिसभा अन्तर्गत १० निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ६० प्रतिशत मत खसेको छ । काठमाडौँमा ६ लाख ५२ हजार १२६ मतदाता छन् ।

भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा अन्तर्गत २ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक लाख ९४ हजार ४३९ मतदाता छन् । ललितपुरमा भने ६१ प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभा अन्तर्गत तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख ५० हजार ४१० मतदाता छन् ।

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खसेको छ । यो जिल्लामा तीन लाख १० हजार ६३ मतदाता छन् ।

यस्तै, सिन्धुपाल्चोक र मकवानपुरमा ५५ प्रतिशत मत खसेको जनाइएको छ । मकवानपुरमा प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २७३ मतदाता छन् । प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन लाख ७३३ मतदाता छन् ।

चितवनमा ६२ प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभा अन्तर्गत तीन निर्वाचन क्षेत्र रहेको चितवनमा ४ लाख ८ हजार ३४२ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्