Logo

३२ वर्षपछि विश्वकपको पहिलो खेलमा हार्‍यो अर्जेन्टिना

पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ। 

लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खायो। दास्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको साउदीका लागि लागि ४८औं मिनेटमा सले अलशेहेरीले बराबरी गोल फर्काएका थिए। त्यसको पाँच मिनेट नबित्दै सलिम अलदावसरीले गरेको गोलसँगै मध्यपूर्वी मुलुकले २–१ को अग्रता बनाएको थियो।

सोही अग्रताको सहज बचाउ गर्दै साउदी अरबले ऐतिहासिक जित हासिल गर्यो। अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो। साउदी अरबले भने हालसम्म विश्वकपमा सबैभन्दा ठूला टिमविरुद्ध जित हासिल गरेको छ। यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमै युरोपेली प्रतिद्वन्द्वी बेल्जियमलाई १–० गोलको नतिजामा पराजित गरेको थियो।

अर्जेन्टिना पहिलो हाफमा गरेका तीन गोल अफसाइडका कारण रद्द हुँदा दुर्भाग्यशाली साबित भयो। अर्जेन्टिनाले साउदीको पोस्टमा गरेका १५ मध्ये ६ वटा प्रहार फ्रेममा परेका थिए।

यद्यपि, दोस्रो हाफमा सन्तुलित डिफेन्सको उत्कृष्ट नमुना देखाएको साउदीले कुनै पनि प्रयास सफल हुन दिएन।

प्रतिक्रिया दिनुहोस्