Logo

राज्यमन्त्री कार्कीको स्पष्टिकरण – चाँडै संसार छाड्दैछन् भन्ने बुझ्नेबित्तिकै भेट्न नगई बस्न सकिनँ

प्रेम आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै चौतर्फी आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टिकरण दिएकी छन् । गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यलाई तत्काल उद्धार गरि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन् ।

त्यसको भिडिओसहित समाचार सार्वजनिक भएपछि स्वास्थ्य राज्यमन्त्रीले आईसीयू कक्षमा पस्दा प्रोटोकल पालना नगरेको भन्दै व्यापक आलोचना भइरहेको छ । त्यसै विषयमा राज्यमन्त्री कार्कीले आज बहानै फेसबुकमार्फत स्पष्टीकरण दिएकी हुन् । उनले आत्मदाहको प्रयास गरेका आचार्यले चाँडै संसार छाड्दैछ भन्ने थाहा पाएरै आफू उनको आँखा तथा बोली बन्द हुनुअघि नै भेट्न गएको बताएकी छन् ।

‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ऊ चाँडै नै यो संसार छोड्दै छ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनुअगावै, उनका बोली सधैँको लागि रोकिनुअगावै म उहाँलाई भेट्न पुगेको थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ, धन्न मैले ढिला गरिनछु,’ उनले भनेकी छन् । आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझेपछि आफूभित्रको ‘मानव’ले उनलाई नभेटी रहन नदिएको राज्यमन्त्रीको कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्