Logo

दोषीविरुद्ध ७ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला , एसिड पीडित पवित्राले पाइन् न्याय

काठमाडौंको सीतापाइलामा करिब दुई वर्षअघि एक युवतीलाई कोठा बाहिर बोलाएर भएको एसिड आक्रमणका योजनाकारलाई ७ वर्ष कैद, १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले आइतबार सजाय निर्धारण गर्दै फैसला सुनाएका हुन् । यसअघि गत साता नै ४८ वर्षीय नेपाली नागरिक मोहम्मद आलम र भारतीय नागरिक फैयाद अन्सारी दोषी ठहर भएका थिए । आलमको योजनामा अन्सारीले एसिड प्रहार गरेका थिए । अन्सारीविरुद्ध ७ वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ ।

आलमले ढल्कुस्थित आफ्नो ब्याग गार्मेन्टमा काम गर्ने मजदुरकी बहिनीलाई एसिड आक्रमण गर्न लगाएका थिए । आफूले भनेअनुसार गर्न नमानेपछि ती महिलामाथि एसिड आक्रमण भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । यही घटनापछि एसिड आक्रमणसम्बन्धी छुट्टै कानूनको व्यवस्था भएको थियो । अन्सारी र आलमविरुद्ध ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा मनासिव क्षतिपूर्तिको मागदाबी लिएर अभियोगपत्र दर्ता भएको थियो ।

२०७७ साउन ११ गते सीतापाइलामा साँझपख उक्त घटना भएको थियो । अधिवक्ता राधिका खतिवडाले यो फैसलाले एसिड आक्रमणका घटना थप नियन्त्रण हुनेमा विश्वास व्यक्त गरिन् । ‘मागदाबी अनुसारकै सजाय भएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनी उपचारपछि सामान्य अवस्थामा फर्किएकी छन् । उनलाई सरकारले करारमा रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्