Logo

संसदमा बैठकमा उठ्यो राष्ट्रपतिको सवारी विषय, खुकुलो बनाउनुपर्नेमा जोड

सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा जनताले दुःख पाएको भन्दै सरकारको आलोचना गरेका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारी चलाउँदा जनताले दुःख पाएका र जसकारण विद्यामान व्यवस्थाप्रति नै नकारात्मक असर गरेको बताए ।

गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी थिइन् । राष्ट्रपति भण्डारीको सवारी चलाउँदा सडक खाली गरिएको थियो । सो समयमा सुरक्षाकर्मीबाट चिकित्सक कुटिएकोदेखि एम्बुलेन्ससमेत रोकिएको विषयले जनताको गणतन्त्रप्रति नै आक्रोश बढेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।

बैठकको शून्य समयमा बोल्दै रघुजी पन्त, मुक्ताकुमारी यादवलगायतका सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।जनतालाई असहज नहुनेगरी विशिष्ट व्यक्तिको सवारी चलाउनुपर्ने भन्दै सांसद पन्तले राष्ट्रपतिको सवारी चलाउँदा भएको जामका कारण सरकार, संसद र राष्ट्रपतिप्रति नकारात्मक टिप्पणी भएको बताए ।

प्रधानमन्त्रीको तहबाट समस्या समाधानमा पहल हुनुपर्ने बताएका उनले लोकतन्त्रमा विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड खुकुलो हुनुपर्ने बताए । सांसद मुक्ताकुमार यादवले लडेर ल्याएको लोकतन्त्र यही हो भन्दै प्रश्नसमेत गरिन् । जनतालाई दुःख नपर्नेगरी विशिष्ट व्यक्तिको सवारी चलाउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्