Logo

चलचित्र पत्रकार संघ नेपालको ‘१२ बुँदे धुलिखेल घोषणा पत्र यस्तो

चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय समिति, शाखा अध्यक्षहरु र विभिन्न बिभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा चैत १८ गते काभ्रे जिल्लाको धुलिखेलस्थित इको रिसोर्टमा चौंथौं पुर्ण बैठक सम्पन्न भएको छ । यस्तै, आज आइतबार नीति तथा परामर्श भेला समेत चलचित्र पत्रकार संघले आयोजना गरेको छ । बैठक र भेलाले १२ बुँदे घोषणा पत्र जारी समेत गरेको छ । संघको बार्षिक कार्य योजनाको लागी नीति तथा परामर्श भेलामा विभिन्न सुझाव संकलन समेत गरिएको महासचिव रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।

चलचित्र पत्रकार संघ, नेपालले ‘१२ बुँदे धुलिखेल घोषणा पत्र’ समेत जारी गरेको छ । संघले जारी गरेको १२ बुँदे घोषणा पत्र यस्तो छः

१. संघीय र प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ उपलब्ध गराउन यो बैठक सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।

२. सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति तत्काल कार्यान्वायन गर्न यो बैठक जोडदार माग गर्दछ । साथै, चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना माग गर्दछ ।

३. श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्दछ ।

४. विज्ञापन बोर्डले प्रदान गरिने समानुपातिक विज्ञापन प्रणाली कार्यान्वायनमा फितलो रहेको र पहुँच भएकाले मात्र पाउँदै आएकाले समावेशी रूपमा साना तथा मझौला मिडिया र स्वरोजगारमुखी मिडियालाई पनि वितरण गर्न यो बैठक माग गर्दछ । साथै कला, चलचित्र तथा मनोरञ्जन विधा केन्द्रित मिडियालाई पनि समावेशी प्रणालीमा विज्ञापन वितरण गर्न यो बैठक जोडदार माग गर्दछ ।

५. नेपाली चलचित्रलाई बजार प्रवर्धन गर्दै अन्तर्राष्ट्रियकरणका लागि चलचित्रसँग सम्बन्धित संघसंस्था, चलचित्र विकास बोर्ड र सम्बन्धित सरकारी निकायले चलचित्र पत्रकारसँग समन्वय र सहकार्य गरि कार्यक्रम व्यवस्थापन गर्न यो बैठक जोडदार माग गर्दछ ।

६ं. चलचित्र पत्रकारलाई दक्ष बनाउन पत्रकारमुखि विविध कार्याशाला तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नका लागि संंघीय सरकार, प्रदेश सरकार, चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघसँग यो बैठक जोडदार माग गर्दछ।

७ं. नेपाल सरकार एवं चलचित्र विकास बोर्ड र प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तथा सम्मानमा चलचित्र पत्रकारलाई पनि समावेश गर्न यो बैठक जोडदार माग गर्दछ ।

८. चलचित्रसँग सम्बन्धित संघ संस्था तथा सरकारी निकायबाट हुने गरेका चलचित्रसम्बन्धी अनुगमन, मुल्यांकन तथा विदेश भ्रमण÷अवलोकनजस्ता कार्यक्रममा चलचित्र पत्रकारलाई अनिवार्य सहभागि गराउन यो बैठक जोडदार माग गर्दछ।

९. चलचित्र पात्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्थाका लागि संघिय सरकार र प्रदेश सकारसँग यो बैठक माग गर्दछ ।

१०. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल सरकार तथा सम्बद्ध निकायसँग माग गर्दछ।

११. नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धी र बजार व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले तयार गरेको चलचित्र नीति तथा कार्यक्रमलाई यथाशक्य कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा संघिय सरकारसँग जोडदार माग गर्दछ ।

१२. नेपाली चलचित्रसँग सम्बन्धित पेसागत तथा व्यावसायिक संघसंस्था र चलचित्र पत्रकार संघ नेपालको आपसि सहकार्य र समन्वयका लागि यो बैठक माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्