Logo

दुई हजार वर्षमा पहिलोचोटि सुनसान भक्तपुरको वैशाख !

यसपालि नयाँ वर्षमा भक्तपुरले ठूलो कुरा ‘मिस’ गर्याे – बिस्काः।

बिस्का: यहाँको मूल जात्रा मात्र होइन, लिच्छवि कालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्का:मा ठड्याइने यःसि (लिंगो) लाई किराँतमाथि लिच्छविहरूको विजय प्रतीकका रूपमा लिइन्छ।

किराँतको पराजयपछि कम्तिमा दुई हजार वर्षदेखि चल्दै आएको यो जात्राले यसपालि कोरोना भाइरसलाई जित्न सकेन। मान्छेको भीडभाडमा संक्रमण जोखिम बढ्ने भएकाले आइतबार यहाँ लिंगो ठड्याइएन। बरू केही साना केटाकेटीले बाँसको लिंगो ठड्याएर बिस्काःको सम्झना मेटे। केहीले कृत्रिम रथ पनि गुडाए। कतिपयले सामाजिक सञ्जालमा पुराना तस्बिर र भिडिओ हालेर चित्त बुझाए।

कोरोना त्रास नहुँदो हो त यतिबेला भक्तपुर जात्रामय हुन्थ्यो। टाढाटाढाका मान्छे भक्तपुरको उल्लासमा सामेल हुन आइपुग्थे। आठ रात नौ दिनकाे जात्रामा बिहानदेखि बेलुकीसम्मै टोलभरि चहलपहल छाउँथ्यो। अहिले लकडाउनको सन्नाटा छ। न बाजागाजा झ्याइँझ्याइँ, न रथ तान्दाको होस्टे हैंसे।

बिस्काःअन्तर्गत रथ यात्रा, जिब्रो छेड्ने लगायत विभिन्न उत्सव भए पनि लिंगो ठ्डयाउने र ढाल्ने मूल परम्परा हो। यो नयाँ वर्षको अघिल्लो दिन ठड्याइन्छ भने वैशाख १ गते ढालिन्छ। यसपालि सबै उत्सव सम्भव नभए पनि भैरवको मन्दिरमा सुनको लिंगो प्रतीकका रूपमा ठड्याइएको संस्कृतिविद् एवं स्थानीय ओम धौभडेलले जानकारी दिए।

‘बाहिर लिंगो ठड्याउँदा मान्छेको भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले मन्दिर प्रांगणमै सुनको लिंगो ठ्डयाइएको हो,’ उनले भने।

स्का: जात्रा चैत २७ गतेबाट हुन्छ। भैरवनाथको मूर्ति र बेताल देवतालाई टौमढीस्थित न्यातापोल मन्दिर प्रांगणको तीनतले भैल खः (भैरवको रथ) मा स्थापना गरेपछि विधिवत् जात्रा सुरू हुन्छ। त्यसबीच ‘होस्टे हैंसे’ गर्दै रथलाई आ–आफ्नो टोलमा लग्ने प्रतिस्पर्धा चल्छ।

प्यागोडा शैलीको तीनतले रथ तानातान गरेको दृश्य यो जात्राको केन्द्रविन्दुमा रहन्छ। भैरवकै वहान मानिने बेतालको रथ अगाडि हुन्छ। करिब ३० वर्षपछि अघिल्लो वर्ष मात्रै दाता नारायणप्रसाद खाइजुले यसको निर्माण गरेका थिए। पुरानो बेताल रथ इनाचोको घरमा ठोक्किएर बिग्रिएको थियो। भैरवका नाइकेहरूले खाइजुलाई बनाउने जिम्मा दिएका थिए।

बेताललाई मानन्धर समुदायको सानो बालकका रूपमा पनि लिइन्छ। त्यसैले यसलाई सानो बालककै स्वरूपमा निर्माण गरिन्छ। बेताललाई बोक्ने पनि मानन्धर समुदायकै हुन्छन्।

किम्बदन्तीअनुसार पाचँतले मन्दिर नजिकैको पुः बहाः (पुजारीको बहाल) मा बेतालले उपद्रो गरेर दुःख दिन्थ्यो। ढोकाबाट नपसेर झ्यालबाट पस्थ्यो। पकाइरहेको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेको मान्छेको गालामा हान्थ्यो।

भैरवका लागि भने उसले राम्रो काम गर्थ्यो, धौभडेलले भने, ‘भैरवको रथ पूरै चुकुलले बनेको हुन्छ। एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत परेछ। पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्याएछ। बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ। पाचँतले मन्दिरको गजुरसमेत बेतालले हालेको विश्वास गरिन्छ।’

त्यही भएर बिस्काःभरि बाटोमा उट्पट्याङ गर्ने बच्चा देख्यो भने उसलाई कसैले गाली गर्दैनन्। त्यो बच्चा भैरवकै वहान बेताल हो भन्ने मान्यता छ।

बिस्काःमा भैरवसँगै भद्रकालीको रथ पनि हुन्छ। भ्रदकाली र भैरवलाई श्रीमान–श्रीमतीका रूपमा लिइन्छ। एकपटक भैरव र भद्रकालीको झगडा पर्छ। भैरवले श्रीमतीलाई फकाएपछि गाःहितिमा उनीहरूको समागम हुन्छ। त्यसैको प्रतीकका रूपमा बिस्काः बेला दुई रथ जुधाउने चलन छ।

लिच्छवि कालमा सुरू भएको जात्रालाई मल्ल राजाहरू विश्व, जगज्योर्ति, रणजित लगायतले थप परिस्कृत गर्दै अहिलेको स्वरूपमा ल्याएको धौभडेल बताउँछन्। यही क्रममा करिब १६ औं शताब्दीतिर मनोरञ्जनका रूपमा रथयात्रा थपिएको उनको भनाइ छ।धौभडेलका अनुसार सुरूमा रथ एकतले थियो। भूपतिन्द्र मल्लको पालामा तीनतले रथ विकसित भयो। उनैले बिस्का:सँगै नवदुर्गा नाच पनि ठाउँ–ठाउँमा देखाउने चलन चलाए।

बिस्काः ‘बि स्यात ख्यात’ भन्ने शब्दबाट आएको हो। यसको अर्थ हो, सर्प मारेर झुन्ड्याउने।

बिस्काःको लिंगोमा झुन्ड्याइने ध्वजा त्यसैको रूप भएको धौभडेल बताउँछन्। सर्प मारिसकेपछि मनाइने जात्रा भएकाले लिंगो ठ्ड्याउनुअघि टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरुप दुईवटा ध्वजा बाँधिन्छ र अष्टमातृकाको प्रतीक आठवटा डोरीले तानेर लिंगो उठाउने चलन छ।

रथयात्रा रोकिएको यो पहिलोपटक होइन। करिब चार सय वर्षअघि काठमाडौंका राजा प्रताप मल्लले बिस्काःकै समय पारेर भक्तपुुरमा आक्रमण गर्दा जात्रा रोकिएको थियो।

त्यो बेला प्रताप मल्लका सेना आएर यःसिं उठाउन नपाइने भन्दै घेराबन्दी गरेका थिए। टौमडीबाट रथ तानिए पनि ल्योसिङखलसम्म पुगेन।

‘रथयात्रा सुरू भए पनि पूरा हुन सकेन, तर रथ नै नबनेको भने यसपालि सम्भवत: पहिलोपटक हो,’ उनले भने।

त्यस्तै, अर्को एकपटक पनि प्रताप मल्ल र ललितपुरका श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरेको धौभडेल बताउँछन्। जात्रै नहुने छाँट देखेपछि स्थानीय दुःखी भएका थिए। त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको किम्बदन्ती छ।

बिस्काःलाई राजनीतिक उत्सवका रूपमा पनि लिइन्छ। एउटा वंशको पतन र अर्कोको उदयका रूपमा मनाइने यो जात्रा सत्ता परिवर्तनको उत्सव भएको धौभडेल बताउँछन्।

यसको अर्को पनि राजनीतिक सम्बन्ध छ।

‘भक्तपुर पहिले नेपालकै राजधानी थियो। यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनाए। त्यसपछि इलाका सानो हुँदै गयो,’ धौभडेलले भने, ‘भुवन मल्लले राज्य आफ्नो अधिनमा राख्न बिस्काः जात्रालाई अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे।’

त्यही भएर साँखु, तौमडी, बोडे लगायत ठाउँमा पनि बिस्का: मनाउने चलन छ। ती ठाउँमा पनि यसपालि कोरोना कहरले जात्रा भएन।

 

प्रतिक्रिया दिनुहोस्