Logo

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि एम्बुलेन्सले लान मानेन, आफैं बाइक चलाएर पुगे अस्पताल……(भिडियो सहित)

मंगलबार दिउँसो धादिङको ज्वालामुखी गाउँपालिका कार्यसमितिको बैठक चलिरहेको थियो। बैठकमा वडा नम्बर ३ का अध्यक्ष रुद्रमान श्रेष्ठ पनि सहभागी थिए। बैठक चलिरहेकैबेला सोही गाउँपालिकाका एकजना युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ आएको खबर आयो। त्यसपछि छलफलको विषय मोडियो। पोजेटिभ देखिएको युवकलाई कहाँ लाने भनेर छलफल चल्यो। त्यहाँबाट सुरूमा जिल्ला अस्पतालसम्म लैजाने कुरा भयो। लगत्तै वडाध्यक्ष श्रेष्ठले युवकलाई फोन गरेर आफू त्यहाँ आउने भन्दै घरमै बस्न आग्रह गरे। उनी त्यहाँबाट साँझ ६ बजेतिर युवकको घरमा पुगे।

युवक पनि वडाध्यक्षलाई नै कुरेर बसिरहेका थिए। परिवारसँगको छलफलपछि युवकलाई जिल्ला अस्पताल लाने कुरा भयो। त्यसपछि मैदी हेल्थ पोस्टको इञ्चार्जलाई एम्बुलेन्स पठाइदिन भनी कसैले फोन गरे। तर इञ्चार्जले चालकलाई पिपिई नभएकाले एम्बुलेन्स आउन नसक्ने बताए। ‘हामीले उहाँहरूलाई पिपिई दिएका थियौं तर हिजो झूट बोलेर उहाँहरू पन्छिनुभयो,’ वडाध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने।

इञ्चार्जले त्यसो भनेपछि श्रेष्ठले एम्बुलेन्सका चालकलाई फोन लगाए। चालकको पनि फोन अफ थियो। तारन्तर फोन गर्दा पनि चालकसँग सम्पर्क हुन सकेन। त्यसपछि के गर्ने भनेर कुराकानी हुँदैथियो। त्यही बेला पानी पर्न सुरू भयो। रातिको ८ बजेको थियो। एम्बुलेन्स नमिलेपछि बाइकमै भए पनि अस्पताल लानुपर्छ भनेर वडाध्यक्ष श्रेष्ठ कस्सिए। आफूसहित चार वटा बाइकको व्यवस्था गरे। युवकको दाइको पनि बाइक रहेछ। त्यो बाइक युवक आफैंले कुदाउने भए।

युवकको बाइक बीचमा र बाँकी तीनटा बाइक अगाडि/पछाडि लगाएर वडाध्यक्ष श्रेष्ठ त्यहाँबाट हिँडे। आधा घण्टापछि सबै जना जिल्ला अस्पताल पुगे। युवकलाई आइसोलेसनमा भर्ना गरे।
रातिको समय भएको र पानी पनि परिरहेकाले श्रेष्ठले घर फर्किन उचित ठानेनन्। उनीसँगै युवकलाई छाड्न गएका चारै जनाले अस्तालमै रात काटे।

‘आज बिहान ११ बजे त्यहाँबाट घर आए। स्वाब परीक्षण गर्नलाई पठाएको छ रे। अब नतिजा के आउँछ त्यसपछि कुरा हुन्छ,’ उनले भने। अस्पताल जान नमान्ने एम्बुलेन्स चालकलाई गाउँपालिकाले पदबाट बर्खास्त गरिएको उनले बताए। स्वास्थ्य चौकीको इञ्चार्जलाई पनि स्पष्टिकरण सोधिएको उनले जानकारी दिए।

‘उहाँबाट पनि गल्ती भएको छ भने गाउँपालिकाले त्यसमा आवश्यक कदम चाल्छ,’ उनले भने। युवक अहिले अस्पतालको आइसोलेसनमै छन्। उनी गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल आएका थिए। नेपाल आएर उनी १५ दिन जति हेटौंडा बसेका थिए। श्रेष्ठका अनुसार उनी त्यसपछि मात्र घर आएका थिए। हिजो गरिएको र्‍यापिड टेस्टमा उनको एन्टिबडी पोजेटिभ देखिएको थियो। युवकमा कोरोना भए वा नभएको टुंगो लाग्न पिसिआर परीक्षणको नतिजा आएपछि थाहा हुन्छ।

प्रतिक्रिया दिनुहोस्