Logo

कोरोना संक्रमणको जोखिम क्षेत्रमा गएको कारण १६ सांसदमा फेरि कोरोना परीक्षण

बजेट अधिवेशन सुरु हुनुअघि कोरोना संक्रमण परीक्षण गराएर संसद बैठकमा सहभागी भएका १६ जना सांसदले पुनः कोरोना संक्रमण परीक्षण गराएका छन् ।उनीहरु कोही उपत्यकाबाहिर गएका र कोही कोरोना संक्रमणको जोखिम क्षेत्रमा गएको जानकारी पाएपछि संसद सचिवालयले पुन परीक्षण नगराई बैठकमा सहभागी हुन दिएको छैन ।

संसद सचिवालयका स्वास्थ्य शाखाका डा. पुष्प रिजालले १६ जना सांसदले पुनः परीक्षण गरेको जानकारी दिए । पुनः परीक्षणका लागि आवश्यक समन्वय गरिदिएको डाक्टर रिजालले बताए ।पुनः परीक्षण गराउने सांसदहरुमा पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरा, पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादव, किसान श्रेष्ठ, पदम गिरी, केदार सिग्देल, गंगा चौधरीलगायत छन् ।

संसदको चालु अधिवेशन सुरु हुनु अगावै गत वैशाख २५ र २६ गते सांसदहरुको कोरोना परीक्षण गरिएको थियो ।त्यसबेला संसद सचिवालयले संसद बैठकमा सहभागी सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको थियो । जसमा घरमै क्वारेन्टिनमा बस्नुपर्ने, राजधानी छोड्न नहुनेलगायत उल्लेख छ ।

आचारसंहिताको पालना नगरी राजधानी बाहिर गएका र कोरोना संक्रमितको सम्पर्कका पुगेका सांसदहरु पुनः परीक्षण गरेका हुन् ।सांसदलगायत संसद भवन प्रवेश गर्नेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।

संसद सचिवालयले सांसदको परीक्षणका लागि समन्वय गरिदिएको तर, खर्च सचिवालयले नब्यहोरेको बताएको छ ।हालै परीक्षणका लागि नमुना दिएकी सत्तारुढ दल नेकपा सांसद गंगा चौधरीले आफैंले खर्च गरेको बताइन् । ‘१५ हजार जति लाग्ने रहेछ’ सांसद चौधरीले अनलाइनखबरसँग भनिन् ।

हाजिर गरेर फर्किए !

संसद सचिवालयका अनुसार सांसदहरु उपत्यकाबाहिर गएको वा कोरोना संक्रमितको सम्र्पकमा पुगे वा नपुगेको हेर्ने गरिएको छ । यसबारे सम्बन्धित पार्टीले समेत ख्याल गरिरहेको छ ।सांसदहरुलाई पनि राजधानी नछोड्न र कोरोना संक्रमितको सम्पर्कमा नजान दल र संसद सचिवालयले आग्रह गर्दै मोबाइलमा एसएमएससमेत पठाएको थियो ।

यति गर्दा पनि कतिपयले आचारसंहिता उलंघन गरेका कारण पुनः परीक्षण गराएर मात्रै प्रवेश दिइएको संसद सचिवालयले जनाएको छ ।उपत्यकाबाहिर गए फर्किएपछि परीक्षण नगराएको भनेर अघिल्ला बैठकमा केही सांसदलाई संसद सचिवालयले बैठक कक्ष प्रवेशमा रोक लगाएको जनाइएको छ ।

‘केही सांसदलाई संसद भवन नयाँ बानेश्वर पुगिसकेका कारण हाजिर गराएर पनि फर्कायौं, किनभने यो खेलाची गर्ने विषय होइन । पुनः परीक्षण गराएका सांसदहरुको रिपोर्ट आइसकेको छ उहाँहरुलाई अबको बैठकमा सहभागी समस्या हुन्न’ संसद सचिवालयका एक कर्मचारीले भने ।ती कर्मचारीका अनुसार एक जना प्रतिनिधिसभा सदस्य पनि लकडाउको बीचमा जिल्ला गएका थिए । तर, उनले फर्केर आएपछि परीक्षण गराएका छैनन् । onlinekhabar

प्रतिक्रिया दिनुहोस्