Logo

काठमाडौं आउँदा सडकमै हुँदैछ स्वाब संकलन !

पीसीआर परीक्षण भएन भनेर एउटा युवा समूहले अभियान नै बनाए– ‘इनअफ इज इनअफ ।’ पीसीआर परीक्षण बढाउन माग गर्दै यो युवा समुह स्वतस्फूर्तरुपमा सडकमा उत्रियो । ‘इनअफ इज इनअफ’ आन्दोलन सत्याग्रहसम्म पुग्यो र यो समुहका दुईजना अहिले पनि हनुमानढोका दरबार परिसरमा भोक हडतालमा छन् ।

यता सरकारले काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामै मान्छेहरुलाई गाडीबाट झारेर पीसीआर परीक्षण गर्न थालेको छ । परीक्षणका लागि स्वाव संकलन गर्न संघीय सरकारले स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य व्यवस्थापनको जिम्मा स्थानीय सरकार (चन्द्रागिरी नगरपालिका) ले लिएको छ । नगरपालिकाको स्वास्थ्य शाखा कार्यरत कर्मचारीहरु खटिएका छन् ।

नागढुंगा कटेर थानकोट चेकपोष्ट आउनासाथ स्वास्थ्यकर्मीहरुले गाडी रोकेर पीसीआर परीक्षण गराउन भन्छन् । त्योसँगै गाडीबाट ओरालेर नाम दर्ताका लागि लाइनमा राख्छन् । स्वाव दिएपछि मात्रै उनीहरु गन्तव्यतिर लाग्न पाउँछन् ।शनिबार शुरु भएको सडकमै स्वाव संकलन हुने यो सुविधा सोमबार साझसम्म २ हजार ३०७ जनाले उपयोग गरेका छन् । चौथो दिन मंगलबार दिउँसो थानकोटमा काठमाडौं भित्रिने पास बनाएका निजी सवारी साधनको लाम थियो । लामोदूरीका सार्वजनिक यातायात भदौ १ गतेबाट मात्र खुला हुँदैछ ।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कृष्णप्रसाद अधिकारी सबै गाडीलाई प्यासेन्जर ओरालिरहेका छन् । मलाई पीसीआर परीक्षण आवश्यक छैन भन्नेहरु पनि धेरै थिए । तनहुँबाट स्कारपिओ जिपमा आएका ५ जनाले पनि स्वाव दिन मानेनन् ।

केहीदिन अघिसम्म पीसीआर परीक्षण नभई काठमाडौंका घरबेटीहरुले प्रवेश नै दिँदैनन् थिए । भाडाको कोठा वा फ्ल्याटमा पस्न र बस्न पनि पीसीआर परीक्षण गराउन टेकु अस्पताल पुग्नेहरु धेरै हुन्थे । तर, बाटामै परीक्षण गराउनुस् भन्दा पनि नमान्नेहरु भेट्दा कृष्णप्रसाद अधिकारी दिक्क देखिन्थे ।

अस्ति प्रहरीले गाडीबाट जर्बजस्ती झारेर परीक्षण गर्न लगायो भन्ने हल्ला पनि चलेछ’, अधिकारीले भने, ‘त्यसैले हामी परीक्षण गराउनुस् भनेर आग्रहमात्र गर्छौं । परीक्षण गर्दा सबैलाई राम्रो हुने भए पनि धेरैजना अनिच्छुक भेटिन्छन् ।परीक्षणको आवश्यकता बुझ्नेहरु भने बाटैमा स्वाव दिन पाउँदा खुसी भएका छन् । सवारी चालकहरुलाई पीसीआर परीक्षण गराउन नभने पनि पाएको सुविधा उपयोग गरौ भनेर आफै लामवद्व हुनेहरु पनि देखिए ।

एउटा टाटा सुमोका यात्रुहरुलाई स्वास्थ्कर्मीले स्वाव लिन लाइनमा राखेपछि त्यसका चालकले पनि प्रहरीलाई आफूले पनि कोरोना परीक्षण गर्न चाहेको बताए । प्रहरीले स्वास्थ्यका कर्मचारीलाई सोध्न भने । स्वास्थ्यकर्मीले परीक्षण गराउन पाइन्छ भनेपछि ती चालक यात्रुहरु उभिएको नाम दर्ता गराउने लाइनमा गएर उभिए ।लागेको रहेछ भने उपचार हुन्छ, रहेन छ भने ढुक्क’, उनले मिडिया सँग भने, ‘यति सजिलै परीक्षण गर्न पाउँदा देशमा सरकार रहेछ भनेर खुसी लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्