Logo

कोरोनाको माहामारी आएसगै अरू संक्रामक रोग कहाँ हराए ? डा. शेरबहादुर पुन


हरेक वर्ष यतिबेला संक्रामक रोगका बिरामी देखिन्थे । नोवेल कोरोना भाइरस (कोभिड–१९) नआएको भए म पनि संक्रामक रोगकै बिरामी हेरिरहेको हुन्थेँ । तर, अहिलेसम्म त्यस्ता बिरामी शून्य अवस्थामा भए जस्तै देखिएको छ । त्यसो भए झाडापखाला, स्क्रबटाइफस आदिका बिरामी कता गए त ? पहिला कोभिड–१९ का ९९.७ प्रतिशत लक्षण नभएका संक्रमित थिए । अहिले लक्षण भएका पनि आउन थालेका छन् । लक्षण भएका संक्रमित आउनु र विगतमा यहीबेलामा देखिने रोगहरू गायब हुनुमा केही सम्बन्ध पो छ कि ?

किनभने, कतिपय लक्षणहरू त उस्ताउस्तै पनि छन् । त्यसकारण कोभिड–१९ र संक्रामक रोगको परीक्षणलाई सँगसँगै लैजाँदा त्यसले सजिलो बनाउँथ्यो कि ? भारतमा पनि यो पक्षमा विचार गरेको देखिँदैन । मैले भारतकै प्रसँग उल्लेख गर्नुका कारण के हो भने संक्रामक रोग उनीहरू र हामीकहाँ प्राय सँगसँगै जस्तो देखिन्छन् । जस्तो– उता फ्लु हुँदा यहाँ पनि फ्लु देखिन्छ । विगतको अनुभव हेर्दा भारतमा पनि यतिबेला संक्रामक रोगका बिरामीहरू बढेको देखिनुपर्ने हो ।

अहिले अधिकांश जनशक्ति कोभिड–१९ मा केन्द्रित छ । अर्कोतिर गर्नैपर्ने यस्ता परीक्षणका लागि ठाउँ पनि छैन । एकछिनलाई मानिलिनुस् परीक्षण गर्दा संक्रामक रोग फेला नपर्ला रे, कोभिड–१९ ले गर्दा संक्रामक रोग गायब भएको रहेछ भने त त्यो पनि नयाँ कुरा भयो नि । म भिजिटिङ रिसर्चरका रुपमा बंगलादेश बस्दाको एउटा अनुभव सुनाउन चाहन्छु । त्यहाँ डायरियाको बिरामीमा ई–कोलाई, शिगेल्ला आदि देखिएको थियो । हैजाका एउटै बिरामीमा तीन–चार किसिमको संक्रमण भेटिएको थियो ।

मैले त्यहाँका प्राध्यापकलाई सोधें भन्नुस्, कुनचाहिँ संक्रमणका कारण बिरामीलाई भर्ना गरिएको हो ? तर, उनीहरूसँग कुनै जवाफ थिएन । पछि मैले यो कुरा दि ल्यानसेट जर्नलमा पनि लेखेँ । यस्तोमा के हुन्छ भने ब्याक्टेरियाको डाक्टरले ब्याक्टेरियाका बिरामी र भाइरसका डाक्टरले भाइरसका बिरामी भनेर भर्ना गरिरहेको हुन्छ । त्यसले गर्दा सही तथ्यांक आउँदैन ।

नेपालमा २२ हजारभन्दा बढी कोभिड संक्रमित देखिएका छन् । कतै त्यसैले पो ओभरल्याप गरेको हो कि ? किनभने, वर्षेनि देखिने संक्रामक रोग त यहीबेला देखिनुपर्ने हो ।

गत वर्षका सञ्चार माध्यममा यतिबेला स्क्रबटाइफस, फ्लुका बिरामीको संख्या यति पुग्यो, उति पुग्यो भन्ने समाचार आएको हुन्थ्यो । तर, यो वर्ष त्यस्ता बिरामी शून्य किन भए त ? हो, मेरो प्रश्न नै यही हो । त्यस्ता संक्रामक रोग नै देखिन छाडे कि वा हामीले परीक्षण गरेनौं ? परीक्षण गर्दा कोरोना पोजेटिभ देखिने र अन्य संक्रामक रोगहरू नेगेटिभ देखिन्छन् भने त्यो पनि नौलो कुरा नै हुन्छ ।

अरु संक्रामक रोगहरु आउनै बाँकी पो हो कि ? अमेरिका र बेलायतले यो बर्षायाम अरु संक्रामक रोगको हिसाबले पनि चुनौतीपूर्ण छ है भनेर सरुवा रोग नियन्त्रण केन्द्रले पनि भनेको थियो । हाम्रो नेसनल इन्फ्लुएन्जा सेन्टरको विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी संक्रामक रोग अगस्तमा देखिन्छ । जर्नलहरूमा प्रकाशित लेखहरू हेर्दा पनि जुलाई–अगस्तमै यस्ता रोग बढी फैलिएका देखिन्छन् ।

सुन्ने शक्तिमा कमी र स्वाद नआउने बाहेकका लगभग सबै लक्षण कोभिड–१९ र अन्य संक्रामक रोगहरूको उस्तै–उस्तै देखिन्छ । यो छुट्याउन किन पनि जरुरी छ भने अरु संक्रामक रोगहरूको औषधि छ नि त । जस्तो– फ्लुको खोप नै छ । फ्लु भएका बालबालिका, दीर्घरोगीलाई बचाउन सकिन्छ । मृत्युदर नै घटाउन सकिने छ भने खोजविन किन नगर्ने भन्ने मेरो कुरा हो ।

अर्को कुरा, समाजले हेर्ने दृष्टिकोण पनि कोभिड–१९ र अरुको हकमा फरक छ । विगतमा फ्लुसँग पनि डराउँथे । तर, कोभिड आएपछि भने अरु रोगसँग डराउन छाडेका छन् । शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल गत वर्षहरूमा यतिबेला संक्रामक रोगका बिरामी हुन्थे । यसलाई कोभिड–१९ अस्पताल बनाइएकाले यहाँ अरु सरुवा रोगका बिरामी आउने कुरै भएन । तर, मलाई व्यक्तिगतरुपमा रुघाखोकी, झाडापखाला लागेकाहरुको फोन भने आएको छ ।

रुघाखोकी लागेको कुनै बिरामी परीक्षणका लागि अस्पतालमा आयो र उसको कोभिड–१९ रिर्पोट नेगेटिभ आयो । अब प्रश्न आउँछ, त्यो बिरामीलाई भएको के हो ? हामीले त्यो पक्षबाट सोच्दै सोचेनौं । मेरो चिन्ता यसैमा हो । कोभिड–१९ नआएको भए हामी यतिबेला त्यही कारण खोज्नतिर लागिरहेका हुन्थ्यौं ।

पहिला यो अस्पतालमा सर्पदंशको पनि उपचार हुन्थ्यो । अहिले वीर र पाटन अस्पतालमा पठाउने गरेका छौं । त्यहाँका डाक्टरहरूले पनि मसँग परामर्श गरिराख्नु हुन्छ । अस्ति भर्खरै एकजना स्क्रबटाइफसको बिरामी आउनुभयो । शायद अरु भए कोरोना भनेर छुन डराउँथे होलान् । मैले उपचार गरेँ । दुई दिनमै निको भए ।

अहिले ज्वरोका बिरामी भन्यो कि तर्सिने अवस्था छ । तर, वास्तविकता के छ भने आजको मितिसम्म पनि कोभिड–१९ को भन्दा अरु संक्रामक रोगको मृत्युदर बढी छ । त्यसकारण यो विषयलाई नजरअन्दाज नगरौं भन्नेमा मेरो जोड हो । पहिला–पहिलाजस्तै झाडा पखालाको लक्षण देखिएका बिरामीको हैजा परीक्षण गरौं । रोग पत्ता लाग्यो भने भने त सही बिरामीले सही समयमा सही औषधि पाइन्छ र जोखिम घटाउन सकिन्छ ।

दि ल्यान्सेट जर्नलमा कोरोना र डेंगु छुट्याउन गाह्रो परेको कुरा पनि आएको छ । सेप्टेम्बर–अक्टोबरतिर डेंगु पनि देखिन्छ जस्तो लाग्छ ।संक्रामक रोगमा ज्वरो आउनु, टाउको दुख्नु भनेको सामान्यजस्तै हो । यस्तोबेलामा नेपालमा सबैभन्दा बढी देखिने दुई/तीनवटा रोगको लहरै परीक्षण गर्थ्यौं । तर, अहिले हाम्रो पुरै ध्यान कोभिड–१९ मा केन्द्रित छ । यस्तो नहोस् कि जुन रोगको हामीले पहिचान र उपचार गर्न सक्थ्यौं, त्यसबाट बिरामीको ज्यान नजाओस् ।

त्यसरी परीक्षण गर्दा पनि रोग देखिँदैन भने त त्यो पक्कै पनि कोरोना हो । पहिला लक्षण नभएका बेलामा योग गरेर, नाचगान गरेर बसेका थिए । जब लक्षण बढ्दै गयो, त्यसपछि संक्रामक रोगको पाटोबाट किन नसोच्ने भन्ने लाग्यो ।

संक्रामक रोगको परीक्षण विगतमा पनि हामीले गर्दै आएका थियौं । तर, अहिले त्यो पूरै ढिक्का छुट्यो । अझै भनौं न, कोरोनाले पुरै थिच्यो, छायामा पार्‍यो । कोरोना भन्दै गर्दा औषधि भएका रोग थप जटिल बनेर बिरामीको मृत्यु हुने अवस्था नआओस् । (कोभिड–१९ का बिरामीको उपचारमा संलग्न शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, टेकुका रिसर्च संयोजक डा. शेरबहादुर पुनसँग अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्