Logo

प्याजमा कालोबजारी :हिजो ५० रुपैयाँ रहेको प्याज २४ घण्टामै प्रतिकिलो १३० रुपैयाँ पुर्‍याइयो !

भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ । कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पुर्‍याइएको छ ।

प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

सोमबार बजारमा ३५ टन प्याज आए पनि मंगलबार प्याज नभित्रिएको उनले बताए । बिगतको प्याजको आयात हेर्दा नेपाली बजार प्याजका लागि भारतमै निर्भर देखिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ । दुई महिनामा ३४ सय टन प्याज बजार भित्रिदा जम्मा तीन टन मात्रै नेपाली प्याज आएको उनको भनाइ थियो ।

भारतले प्याज निर्यात रोकेपछि नेपाली बजारमा प्याज पाइन छोडेको कालीमाटीका व्यापारीहरुको तर्क छ । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको कालीमाटीका आलु–प्याज व्यापारी दधिराम उप्रेतीको दाबी छ । ‘हिजोबाट प्याज आउन छोड्यो, बजारमा प्याज पाइएको छैन,’ उप्रेतीले भने । मागको तुलनामा बजारमा अभाव भएपछि केही व्यापारीले महँगोमा प्याज बिक्री गरेको हुन सक्ने उनको भनाइ छ ।

अर्का प्याज व्यवसायी वृजभुषण मल्लिकले भने बजारमा प्याज नै नभएको र भएको प्याज बिक्री गर्दा बढी मूल्य नलिएको दाबी गरे । ‘थोकमा ८० रुपैयाँमा बिक्री भएको एक सय पुगेको छैन, बजारमा प्याज एक दम कम छ,’ मल्लिकले भने ।

भन्सारमा भारतले रोकेपछि लोड गाडी पनि नेपाल आउन नपाएको उनको भनाइ छ । नेपाली प्याज बजारमा नभएको र भारतकै भर पर्दा समस्या परेको उनले सुनाए । दुई महिनाअघि धेरै प्याज भित्रिदा १८ रुपैयाँ किलोमा पनि बिक्री गर्न नसकिएको प्याज अहिले चरम अभाव भएको मल्लिकको भनाइ छ ।

यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ ।

मंगलबार नै कालीमाटीका ६ वटा पसलमा अनुगमन गरिएको वाणिज्य विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘प्याजको मूल्य वृद्धिविरुद्ध गुनासो आएपछि आज अनुमगन गरेका छौँ, ६ वटा पसललाई पूर्जी काटिएको छ,’ निर्देशक आचार्यले भने ।

तीन वटा खुद्रा र तीनवटा थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको उनले बताए । प्याजको मूल्यवृद्धि विरुद्ध नियमित अपे्रसन घोषणा नै गरेर विभाग लागेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्