Logo

सर्लाहीका अस्पतालमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण भएका बिरामीकाे चाप बढ्याे: जनस्वास्थ्य अधिकृत सत्यनारायण

सर्लाही – सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत सत्यनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेका छन्, हिजो सामान्य स्वास्थ्य परीक्षण गरिएको ३८ जना बिरामीमध्ये १६ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ, समुदायस्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ, पीसीआर परीक्षण सहज नहुँदा नागरिकले धेरै समस्या खेप्नुपरेको छ, अब सबै पालिकाले पीसीआर परीक्षणको दर बढाउनुपर्छ, नत्र जिल्ला अस्पतालमा रहेको एउटा पीसीआरले सबैलाई धान्न सक्दैन ।’

जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलङ्गवाका डाक्टर श्रीप्रताप साहले जानकारी दिनुभयो।

‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी दैनिक ६०/७० जना आउने गरेका छन्, उनीहरू सबैमा कोभिड भएको भने होइन, लक्षण चाहिँ मिल्दोजुल्दो छ, अस्पतालमा अहिलेसम्म गरिएको पीसीआर परीक्षणबाट १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ, एक सय २० जना बिरामीको पीसीआर रिपोर्ट आउँन बाँकी छ । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएकाले जोखिम बढेको छ, सावधानी नभए थप खतरा बढ्छ’, डाक्टर साहले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्